१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मनाङको रबाफिलो जित

मनाङका विमल रानालाई रोक्ने प्रयास गर्दे एनआरटीका नवीन गुरुङ (हरियो)। तस्बिर सौजन्य :एन्फा

काठमाडाैँ – न्युरोड टिम(एनआरटी)माथि सहज जितका साथ मनाङ मर्स्याङ्दी राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको ११औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई ४–१ ले निराश पारेको हो। मनाङ र एनआरटीको खेल शनिबारै हलचोकस्थित एपिएफको मैदानमा हुने तय भए पनि अन्तिम समयमा एन्फाले प्राविधिक कारण देखाउदै खेल आइतबारका लागि सारेको थियो। ११ खेलको समाप्तीमा २२ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको हो। समान खेलबाट २६ अंक जोडेको विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने २५ अंकका साथ मच्छिन्द्र दोस्रो स्थानमा छ। थ्री स्टार क्लब र जावलाखेल युथ क्लब क्रमशः चौथो र पाँचौं स्थानमा छ। थ्री स्टारले २० अंक र जावलाखेलले १८ अंक जोडेका छन्।  

३५औं मिनेटमा स्ट्राइकर विमल रानाले कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई जाली चुमाउँदै मनाङलाई खेलमा अघि बढाएका थिए। विमलले लिगमा पाँचौं गोल पूरा गरे। मध्यान्तर हुनु दुई मिनेट बाँकी हुँदा अञ्जन विष्टले पेनाल्टीको सदुपयोग गर्दै मनाङको अग्रता दोब्बर पारेका थिए। एनआरटीका खेलाडीले अञ्जनमाथि खराब फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। ६५औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै मनाङको अग्रता ३–० मा पु-याए। जारी लिगमा अञ्जनको यो पाँचौं गोल हो। ८९औं मिनेटमा सकल रेग्मीले एनआरटीका लागि गोल गर्दै गोलअन्तर कम गर्ने प्रयास गरेका थिए। तर, इन्जुरी समयको चौथो मिनेटमा दयानन्द सिंहले मनाङको खातामा अर्को गोल थपेपछि एनआरटी ४–१ ले स्तब्ध भयो।

यससँगै ११ खेलबाट एनआरटीको १५ अंक छ र टोली आठौं स्थानमा छ। मनाङसँगको हारपछि शीर्ष ६ मा बस्दै सिजनको अन्त्य गर्ने एनआरटीको लक्ष्यमा समेत धक्का लागेको छ। लिगअन्तर्गत सोमबार १२औं चरणका खेलहरू सुरु हुनेछन्।

आजका खेल
एपिएफविरुद्ध फ्रेन्ड्स क्लब विहान ८ः४५ बजे
सरस्वती युथ क्लबविरुद्ध च्यासल युथ क्लब १२ः१५
संकटा क्लबविरुद्ध मच्छिन्द्र क्लब ३ः३० बजे
एन्फा कम्प्लेक्स

प्रकाशित: २७ माघ २०७६ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App