१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीलाई उपाधि

उपाधिका साथ त्रिभुवन आर्मी क्लबका खेलाडी।

इटहरी - नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै  डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो बनाउन सफल भएको छ। अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई नै पराजित गरेर उपाधि जितेको थियो।

शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाउँदै  ९९ रन मात्र बनाउन पुग्यो। पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन, अमित श्रेष्ठले २३ रन तथा अनिल साहले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसलाई सानो योगफलमा समेट्न आर्मीका देव्रेहाते स्पिनर सुशन भारीले ४ विकेट लिए। ६ ओभरमा भारीले २४ रन खर्चिए। यस्तै अर्का देव्रे हाते स्पिनर शाहब आलमले ३ विकेट लिए, जुन क्रममा ६.४ ओभरमा १ मेडन ओभर गर्दै ३३ रन खर्चिए। कुशल मल्लले २ विकेट तथा विक्रम सोबले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। आर्मीको ब्याटिङमा कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६६ बलमा ४ चौका प्रहार गरे। यस्तै राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम सोबले १५, कुशल मल्लले १३ तथा रोहित पौडेलले ११ रन बनाए। पुलिसको बलिङमा देव्रेहाते स्पिनरद्वय ललित राजवंशी र सागर ढकाल तथा अफ स्पिनर दीपेन्द्र ऐरीले समान ३ विकेट लिए। ढकालले १० ओभरमा १ मेडन राख्दै २९ रन, राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३२ रन तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए। पवन सर्राफले १ विकेट लिए।

 विजेता आर्मीले ४ लाख ५ हजार तथा उपविजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलको प्लेयर अफ दी म्याच आर्मीका सुशन भारी चुनिए।  उनी उत्कृष्ट खेलाडी भए। उनले ५५ हजार रुपैयाँ हात पारे। भारीले ४ खेलमा कुल १५ विकेट लिए। यस्तै प्रतियोगिताको उत्कृष्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदूरपश्चिमका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान ४ खेलमा १ शतक सहित १ सय ९६ रन बनाएका त्रिभुवन आर्मी क्लबका कुशल मल्ल चुनिए। उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ प्राप्त गरे।

विजेता खेलाडीलाई नेकपाका प्रदेश १ इन्चार्च तथा पूर्व पर्यटनमन्त्री भीमप्रसाद आचार्य तथा विशिष्ट अतिथि मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्य तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले पुरस्कार वितरण गरे। मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सात  प्रदेश, तीन विभागीय, एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोली गरी कुल १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता पुस १७ गते देखि सुरु भएको थियो।

प्रकाशित: ५ माघ २०७६ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App