१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बलिया टोलीको संघर्ष

काठमाडौं - डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार बराबरीमा रोकिँदा उपाधिको दाबेदार मानिएको मच्छिन्द्रले भने संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा सोमबार पहिलो खेलमा मच्छिन्द्रले न्युरोड कर्नर टिम (एनआरटी) माथि १–० को संघर्षपूर्ण जित निकाल्दै केही समयका लागि अंकतालिकाको शीर्ष स्थानमा बस्ने अवसर बनाएको थियो। तर, दोस्रो खेलमा भने फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिए पनि मनाङ शीर्ष स्थानमा उक्लियो।

समान चार खेलबाट मनाङ र मच्छिन्द्रले समान एक जित र बराबरीसहित समान १० अंक बटुलेका थिए। यद्यपि, गत संस्करण रेलिगेसनबिनाको लिगमा अन्तिम दुई स्थानमा रहेर लिग टुङ्ग्याएबापत मच्छिन्द्रको अंकतालिकाबाट एक अंक घटाइएको हो।

समालिन नसक्दा एनआरटी स्तब्ध
अन्तिम समय समालिन नसक्दा एनआरटीले बलियो छिमेकी क्लब मच्छिन्द्रविरुद्ध अंक खोस्ने अवसर गुमाएको थियो। रक्षात्मक खेलसँगै काउन्टर अट्याकको रणनीति बनाएको एनआरटीले खेल सकिन लाग्दा गोल बेहोरेपछि मच्छिन्द्रले लिगमा तेस्रो जित दर्ता ग¥यो। मच्छिन्द्रले ७१ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै एकपछि अर्को गोल अवसर बनाए पनि सदुपयोग गर्न सकेको थिएन। 

फ्रेन्ड्सले ५० प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै मनाङलाई पूर्ण रूपमा हाबी हुने अवसर नै दिएन।

खेलको ९०औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मच्छिन्द्रको जित सुनिश्चित गराएका थिए। विजय धिमालको क्रसमा सोमिडेले हेडमार्पmत सुन्दर गोल गरेका थिए। मच्छिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दी म्याच चुनिए। फराकिलो जितबाट लिग सुरुआत गरेको एनआरटीले दोस्रो हार बेहो¥यो। एनआरटीको तुलनामा मच्छिन्द्र आक्रामक देखिएको थियो। तर, रक्षात्मक एनआरटीविरुद्ध मच्छिन्द्रले गोल निकाल्न निकै संघर्ष गर्नुप-यो।

३५औं मिनेटमा मच्छिन्द्र पुनः एकपटक अग्रता बनाउन चुक्यो। डी बक्सको ठीक बाहिरबाट देवेन्द्र तामाङको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो। मच्छिन्द्रले देवेन्द्रको प्रहार गोल भएको अपिल गरे पनि रेफ्री श्रवण लामाले इन्कार गरिदिए। दोस्रो हाफको सुरुआतमै रञ्जित धिमालको क्रसमा अनमार्क अभिषेक रिजाल गोल गर्न चुके। उनले डी बक्सभित्रबाटै पोस्टबाहिर प्रहार गरे।

५२औं मिनेटमा एडिलाजाको प्रहार पहिलो बारनजिकैबाट बाहिरियो। ६१औं मिनेटमा एनआरटी काउन्टरमा गोल गर्न चुक्यो। एनआरटीको काउन्टर अट्याकमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई बिट भएको अवस्थामा तपन कार्कीको प्रहारले दिशा लिन सकेन। ८३औं मिनेटमा अभिषेक रिजालको क्रसमा एडेलाजाले डी बक्सभित्रबाट गरेको प्रहार पुनः अससफल भयो। त्यससँगै एनआरटीको रक्षात्मक रणनीति बराबरीको नतिजा पुगेको अनुमान गरिए पनि  एडेलाजाले अन्तिम समयमा गोल गर्दै मच्छिन्द्रलाई स्पष्ट जित दिलाए।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कुटवालले कठिनाइका बावजुद तीन अंक पाउँदा खुसी लागेको बताए। ‘विपक्षीले राम्रो खेल्दै चुनौती दिएको थियो,’ कटुवालले भने, ‘गोल अवसर बनाए पनि अन्तिममा मात्र सफल भयो। तीन अंक पाउँदा खुसी छु।’ एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले जित्ने लक्ष्य भए पनि सफल हुन नसकेको बताए। ‘बलियो टोलीविरुद्ध खेल राम्रो भयो। जित्ने लक्ष्य थियो,’ शाक्यले भने,‘हामीले पनि अवसर बनाएका थियौं। तर गोल हुन सकेन। अन्तमा गोल खाएपछि अंक गुम्यो।’

फ्रेन्ड्सको खाता खुल्यो
लिगको चौथो खेलबाट पे्रmन्ड्सले अंकखाता खोल्न सफल हुँदा शीर्ष स्थानको मनाङलाई १–१ को बराबरीमा रोकेको छ। फ्रेन्ड्सका लागि उत्तम राईले गोल फर्काउँदै आफ्नो टोलीलाई पहिलो अंक दिलाए। यता, बराबरीको नतिजाका बावजुद शीर्ष स्थानमै रहेको मनाङलाई कमजोर मानिएको पे्रmन्ड्सले निकै चुनौती दियो।

फ्रेन्ड्सले ५० प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै मनाङलाई पूर्ण रूपमा हाबी हुने अवसर नै दिएन। फ्रेन्ड्सको रक्षापंक्तिले सुरुमा गल्ती गरे पनि पछि सुधारिएको प्रदर्शन गरेको थियो। साथै फ्रेन्ड्सले ६ पटक अवसर सिर्जना गर्दा दुई उत्कृष्ट प्रहारमा एक सफल तुल्यायो। यता मनाङले पनि त्यति नै अवसर गुमाउँदा एक गोलमा सीमित भयो । मनाङले खेलेको सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्नुप-यो।

११औं मिनेटमा फरवार्ड रञ्जन विष्टले गोल गरेपछि मनाङले अग्रता लिएको थियो। जगजित श्रेष्ठको कर्नरमा रञ्जनले पेनाल्टी बक्सभित्रबाट फ्लिक हेडर गर्दै गोल गरेका थिए। तर, मनाङले त्यो अग्रता जोगाउन सकेन। ६२औं उमेश राईको गोलबाट फ्रेन्ड्सले बराबरी गरेको थियो। रुमेश बर्तौलाको क्रसमा उमेशले डाइभिङ हेड गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए। गोल अवसर सिर्जना गरेका रुमेश म्यान अफ दी म्याचसमेत घोषित भए। त्यसपछि मनाङ आक्रामक बन्दै प्रहार गरे पनि फ्रेन्ड्सको रक्षापंक्तिले सफल हुन दिएन।

दुवै टोलीले केही मौका पाए पनि सफल हुन सकेनन्। १७औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले मुस्किलले बचाए। ३४औं मिनेटमा पे्रmन्ड्सले पेनाल्टी अपिल गरे पनि रेफ्री श्याम दनुवारले इन्कार गरिदिए।

मनाङका लुइस भिडालले फ्रेन्ड्सका फिलिपे डी सौजालाई पेनाल्टीबक्समा फउल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीको सुन्दर मौका खेर फाल्यो। प्रिजेन तामाङको प्रहार डिफेन्डरले गोललाइननजिकबाट क्लियर गरिदिए। पहिलो हाफमा मनाङले एक मात्र अवसर बनाउँदा फ्रेन्ड्सले भने दबादबा सिर्जना गरेको थियो।


४९औं मिनेटमा मनाङका फेमीको प्रहार गोलकिपर सोजित गुरुङले सहजै बचाए। ७०औं मिनेटमा मनाङका विमल रानाको प्रहारलाई गोलकिपर सोजितले उत्कृष्ट बचाउ गरे। इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्लोरेन्टको फ्रिकिकमा पुजन उपरकोटीको हेडरले पनि सही दिशा लिन नसक्दा मनाङले १–१ को बराबरीमै चित्त बुझायोे।

फ्रेन्ड्सका प्रशिक्षक मार्कुस डान्टसले बलियो टोलीविरुद्ध अंक खोस्नु राम्रो संकेत देखिएको बताए। ‘प्राविधिक रूपमा टोलीको प्रदर्शन राम्रो रह्यो। दिनप्रतिदिन खेल सुधार भएको छ। विपक्षी राम्रो टिम भए पनि अंक खोस्न सफल भयौं,’ डान्टसले भने, ‘अबको दिनमा राम्रो हुन्छ।’ बराबरीपछि मनाङका प्रशिक्षक तोपे फुजाले जित्ने लक्ष्य भए पनि बराबरीमा रोकिनुपरेको बताए। ‘खेल जित्ने आशासहित योजना बनाएका थियौं,’ फुजाले भने,‘तर उनीहरूले राम्रो खेले पनि बराबरीमा रोकिनुप-यो।’

प्रकाशित: १५ पुस २०७६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App