१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रतिस्स्पर्धी नहुँदा नेपाललाई घाटा

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै। तस्बिरः सन्तोष/नागरिक

पोखरा - अबको केही दिनपछि सुरु हुने १३आंै दक्षिण एसियाली खेलकुद (साग) ले राजधानी काठमाडौंसहित पोखरा र जनकपुर खेलमय हुनेछन्। सागमा बलियो उपस्थिति देखाउन नेपाल अन्तिम तयारीमा जुटिरहेको छ। राष्ट्रको प्रतिष्ठासँग जोडिएको यो खेलमा क्षमता देखाएर मेडल हात पार्न सहभागी मुलुकका खेलाडी पर्याप्त तयारीमा जुटिरहेका छन्।

तर, दुर्भाग्य, नेपालले पदकका लागि बलियो दाबेदार प्रस्तुत गर्ने खेल प्याराग्लाइडिङमा आफ्नो क्षमता देखाउन नपाउने निश्चित भएको छ। यसले नेपालको स्वर्ण पदकको संख्या त घट्ने निश्चित त छ नै, खेलाडीले पनि भाग लिन नपाउँदा प्रतिस्पर्धीका सामु अवसर देखाउनबाट वञ्चित हुनेछन्। त्यसबाहेक व्यक्तिगत लाभबाट पनि खेलाडी बञ्चित भएका छन्। प्रशिक्षणका क्रममा व्यावसायिक छाडेर अभ्यास उडान मात्र गरेका खेलाडी झन् मारमा पारेका छन्। 

पोखरामा मात्र सीमित प्याराग्लाइडिङले पोहोर मुलुककै इज्जत धानेको थियो। एसियाली खेलकुदमा रजत पदक हात पारेसँगै नेपालले प्याराग्लाइडिङमा ‘पदकका लागि सधैंको अब्बल दाबेदार’ को पहिचान बनाएको थियो। प्याराग्इडिङको अब्बल दाबेदार नेपालले यो संस्करणको सागमा प्रतिस्पर्धी नपाउँदा आठवटा स्वर्णका लागि हुने प्रतिस्पर्धामा सहभागिताको मौका गुमाएको छ। त्यसले गर्दा नेपालको स्वर्ण पदक घट्ने निश्चित छ। सागमा प्याराग्लाइडिङ सहभागी हुन कम्तीमा तीनवटा राष्ट्र हुनुपर्छ। तर, अन्तिम समयमा नेपालबाहेक कुनै पनि मुलुक खेल्न तयार नभएपछि प्याराग्लाइडिङको सम्भावना टरेको हो। नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले प्याराग्लाइडिङमा नेपालले प्रतिस्पर्धी नपाउँदा स्वर्ण पदकसँगै खेलाडीको व्यक्तिगत पहिचान र क्षमता गुम्ने बताए।

राष्ट्रिय खेलकुद परिषद्ले सागमा प्याराग्लाइडिङ निश्चित भए अन्तिम छनोटमा पर्ने आठ खेलाडीका लागि  एक्युरेसी र क्रसकन्ट्रीमा प्रयोग हुने ग्लाइडरसहितका सामान दिने वाचा गरेको थियो। आठ खेलाडीले दुई–दुई सेट सामान पाउँदा व्यक्तिगत लाभ मिल्थ्यो। ती दुई सेट सामानको मूल्य कम्तीमा दश लाख पर्छ। तर, खेल्नै नपर्ने भएपछि राखेपले ती सामान नदिने भएको छ।

‘हामीले कम्तिमा ६ वटा स्वर्णमा दाबा गरेका थियौ। तर, खेल्नै पाएनाैं,’ उनले भने। सागमा सहभागिता जनाउनका लागि प्याराग्लाइडिङका २७ जना खेलाडी बन्द प्रशिक्षणमा थिए। ती मध्येबाट ५ पुरुष र ३ महिला अन्तिम छनोटमा पर्ने गरी अभ्यास गरिरहेका थिए। प्याराग्लाइडिङको टिम र व्यक्तिगततर्फ एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गराइने तयारी थियो।

पुरुष र महिलातर्फ ४–४ वटा स्वर्णका लागि स्पर्धा हुँदा नेपालले पुरुषतर्फका चारवटै र महिलातर्फका टिम एक्युरेसी र क्रसकन्ट्रीमा स्वर्ण दाबा गरेको थियो। महिलातर्फ व्यक्तिगत एक्युरेसी र क्रसकन्ट्रीमा भारत बलियो रहेको भन्दै स्वर्ण हात पार्न केही कठिनाइ रहेको उनीहरुको भनाइ थियो। ‘सकेसम्म आठवटै, नत्र ६ स्वर्णमा हाम्रो बलियो दावा थियो,’ रावतले भने, ‘ यसमा नेपालका खेलाडी अब्बल थिए। तर, खेल नै हुन पाएन। पदक अवसरबाट मुलुक नै वञ्चित भयो।’

प्याराग्लाइडिङका खेलाडी विजय गौतम सागमा सहभागिता जनाउन नपाउँदा खल्लो महसुस भएको बताउँछन्। ‘प्रतिस्पर्धाको तयारीमा रहेका हामीले खेल्न पाएको भए हौसला मिल्थ्यो, तर, त्यो हुन सकेन,’ गौतमले भने, ‘हाम्रा लागि राम्रो अवसर मिलेको थियो, तर, गुम्यो।’ राष्ट्रका लागि खेल्ने भएकाले व्यावसायिक (टेन्डम) उडान छाडेर पनि मौसम अनुकुल हुँदा सोलो (एकल) उडान गरेको खेलाडीले बताएका छन्।

प्याराग्लाइडिङ उडानमा सोलो र टेन्डम (व्यावसायिक) उडान हुन्छ।  सुरुवातमा खेलाडीले टेन्डम छाडेर सोलो मात्र उडेर पर्याप्त तयारी गरेका थिए। तर, पछि खेल हुने संकेत नदेखेपछि सोलो उडान रोकेर टेन्डमलाई निरन्तरता दिएको उनले बताए। ‘राम्रो मौसम पाउनासाथ उड्न पुग्थ्यौ। सुरुसुरुमा त टेन्डम फ्लाइट पनि रोक्याैं। तर, पछि खेल नहुने संकेत पाएपछि टेन्डम छाड्न सकेनांै। किनकि टेन्डम छाड्दा हाम्रो दालभात नै रोकिन्थ्यो,’ उनले भने।

प्याराग्लाइडिङका राष्ट्रिय कप्तान विमल अधिकारी पनि बेलाबेलामा टेन्डम फ्लाइट छाडेर गरेको अभ्यास खेर गएको बताउँछन्। ‘व्यक्तिगत आम्दानी माया मारेर अभ्यास गरेका थियौं,’ उनले भने, ‘तर, हामीले तयारी अनुरुप मुलुकलाई गुन लगाउन पाएनाैं।’

रावतका अनुसार प्याराग्लाइडिङको प्रतिश्पर्धा नहुँदा व्यक्तिगत रुपमा पनि खेलाडीले पर्याप्त अवसर गुमाएका छन्। राष्ट्रिय खेलकुद  परिषद् (राखेप) ले सागमा प्याराग्लाइडिङ निश्चित भए अन्तिम छनोटमा पर्ने आठ खेलाडीका लागि  एक्युरेसी र क्रसकन्ट्रीमा प्रयोग हुने ग्लाइडरसहितका सामान दिने वाचा गरेको थियो। आठ खेलाडीले दुई–दुई सेट सामान पाउँदा व्यक्तिगत लाभ मिल्थ्यो। ती दुई सेट सामानको मूल्य कम्तीमा दश लाख पर्छ। तर, खेल्नै नपर्ने भएपछि राखेपले ती सामान नदिने भएको छ।

त्यस्तै खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणमा पठाउने तयारी पनि राखेपको थियो। अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि फ्रान्स जाने योजना पनि खेलाडीले बनाइसकेका थिए। ‘मुलुकले स्वर्ण पदक गुमायो, खेलाडीले उपकरण र अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर गुमाए,’ रावतले भने, ‘व्यक्तिगत आम्दानी पनि खेलाडीले गुमाए।’

प्रकाशित: ६ मंसिर २०७६ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App