२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टोटेनह्यामको लज्जास्पद हार

पेरिस – सर्ज गन्याब्रीले दोस्रो हाफमा ४ गोल गरेको खेलमा बायर्न म्युनिखले गत सिजनको च्याम्पियन्स लिगको उपविजेता टोटेनह्यामलाई ७–२ को लज्जास्पद हार चखाएको दिन मंगलबार रियाल मड्रिड भने क्लब ब्रुजसँग २–२ को बराबरीमा रोकिएको छ।

अन्य खेलमा म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन (पिएसजी) र एट्लेटिको मड्रिडले सहज जित हात पारे तर उत्तरी लन्डनमा आएको समूह ‘बी’ अन्तर्गतको खेलको नतिजाले भने सबैको ध्यान आकर्षित गरेको थियो। टोटेनह्यामले घरेलु मैदानमा ७ गोल खाएको यो नेै पहिलो खेल हो।

१२औं मिनेटमा ह्युङ मिन सनले गरेको गोलमा टोटेनह्यामले घरेलु मैदानमा अग्रता लिएको थियो। तर त्यसको तीन मिनेटपछि नै जोसुवा  किमिचले बायर्नलाई खेलमा फर्काएका थिए। पहिलो हाफको अन्तिम समायमा रोबर्ट लेवान्डोवस्कीले बललाई जाली चुमाउँदा बायर्नले २–१ को अग्रता लिएको थियो।

५३ औ र ५५औं मिनेट गरी दुई मिनेटको अन्तरमा दुई गोल गर्दै गन्याब्रीले बायर्नलाई  फराकिलो जिततर्फ अग्रसर गराएका थिए। ६१औं मिनेटमा स्ट्राइकर ह्यारी केनले पेनाल्टीको सदुपयोग गर्दै टोटेनह्यामलाई खेलमा फर्काउने संकेत गरेका थिए। तर अन्तिम ७ मिनेटमा थप ३ गोल गर्दै बायर्नले सानदार जित पक्का गरेको हो। ८३औं मिनेटमा गन्याब्रीले ह्याट्रिक पूरा गरेका थिए भने त्यसको ४ मिनेटपछि लेवान्डोवस्कीले  व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता ६–२ मा पु-याएका थिए। ८८औं मिनेटमा गन्याब्रीले चौथो गोल गर्दा बायर्नले रबाफिलो जित पक्का गरेको थियो।

‘फुटबलमा यस्तो नतिजा आउन सक्छ। उनीहरूको सबै प्रहार गोलमा परिणत भइरहेका थिए। हामी निकै निराश छांै तर हामीले हारबाट आत्तिनुभन्दा पनि आगामी दिनमा कसरी सुधार गर्र्दै अघि बढ्न सकिन्छ भनेर सोच्न आवश्यक छ।’
‘यो प्रदर्शन शब्दमा वर्णन गर्न कठिन छ। ७–२ को जित। यो कसैले पनि कल्पना गरेका थिएनाैं,’ गन्याब्रीले भने।

च्यामिपयन्स लिगमा इङ्लिस क्लबविरुद्ध ४ गोल गर्ने गन्याब्री दोस्रो खेलाडी हुन्। यसअघि २०१० मा बार्सिलोनाका लियोनल मेसीले आर्सनलविरुद्ध ४ गोल गरेका थिए। समूह ‘बी’ अन्तर्गत नै मंगलबार भएको अर्को खेलमा रेड स्टार बेलग्रेडले ओलम्पियाकोसलाई ३–१ ले हरायो।

समूह ‘सी’ मा सिटीले डाइनामो जाग्रेबलाई २–० ले हरायो। सिटीको जितमा रहिम स्टर्लिङ र फिल फोडिनले समान एक गोल गरेका थिए। यता समूह ‘ए’ मा रियालले क्लब ब्रुजसँग २–० ले पछि परेको स्थिति उल्ट्याउँदै अन्ततः खेल २–२ को बराबरीमा टुंग्याउन सफल भएको हो। समूह ‘ए’ मै पिएसजीले गलाटासरेलाई १–० ले हरायो। त्यस्तै समूह ‘डी’ मा युभेन्ट्सले बायर लेभरकुसनलाई ३–० ले हराउँदा एट्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोलाई २–१ ले निराश बनायो।

च्यामिपयन्स लिगमा इङ्लिस क्लबविरुद्ध ४ गोल गर्ने गन्याब्री दोस्रो खेलाडी हुन्। यसअघि २०१० मा बार्सिलोनाका लियोनल मेसीले आर्सनलविरुद्ध ४ गोल गरेका थिए।

प्रकाशित: १६ आश्विन २०७६ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App