१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

९ देशका खेलाडी सहभागी हुँदै

पोखरा - पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एसियन कप तथा साउथ एसियन च्याम्पियनसिप सुरु हुँदैै छ। त्यसको लागि सहभागी खेलाडी पोखरा आइपुगेका छन्।

‘कार्यक्रम एक वर्षअघि नै फिक्स भइसकेको हो। त्यसैले आवश्यक तयारी पूरा गरेका छौं,’ कास्की ट्रायथोलन संघका सचिव प्रकाश बरालले बताए। च्याम्पियनसिपका जानकारी अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेभसाइटमै राखिसकेको छ। स्वीकृतिका लागि १ हजार डलर खर्च गरिएको संघले जनाएको छ।

ट्रायथोलनको स्प्रिन्टतर्फ प्रतिस्पर्धा गराइनेछ। स्प्रिन्टअन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ। ‘पौडी फेवातालमा गराइनेछ। दौड हिमागृह—सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड, राष्ट्रबैंक चोक हुँदै हिमागृहमा पुगेर टुंगिनेछ।’ कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष देवकोटाले भने,‘दौडको यो पाँच किलोमिटर दूरीलाई साइक्लिङ गर्दा चार फन्को मार्नुपर्छ।’ उनका अनुसार राष्ट्र बैंक आउनका लागि ‘बाइपास रोड’ प्रयोग हुनेछ।

शनिबार हुने प्रतिस्पर्धाका लागि सवारीसाधनले निम्त्याउने समस्यालाई ध्यान राख्दै रुटमा पर्ने सडकको आधा भागलाई व्यवस्थापन गर्नुपर्ने जोड दिँदै संघले सवारीसाधनको ट्राफिक व्यवस्थापन गरिदिन आग्रहसमेत गरेको छ। ‘सवारीसाधनको चापलाई व्यवस्थापन गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘त्यसका लागि बाटो केही घण्टाका लागि अवरुद्ध हुन सक्छ। त्यसका लागि विशेष ध्यानसहित यातायात व्यवसायीको सहयोगको जरुरी छ।’

एसियन कप र साउथ एसियन च्याम्पियनसिपमा २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ९ देशका खेलाडी प्रतियोगितामा सहभागी छन्। लिथुआनिया, पोल्यान्ड, जापान, कोरिया, अस्ट्रेलिया, कजाकस्तान, भारत, बंगलादेश र नेपालका गरी २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। २० पुरुष र ७ महिला खेलाडी प्रतिस्पर्धी छन्। जापानबाट मात्रै ८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली पाँच जना छन्। भारतबाट ३, बंगलादेशबाट २ जना सहभागी छन्। कोरियाबाट पनि २ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथलन संघले जनाएको छ।

ट्रायथोलनलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय च्याम्पियनसिप गराइएको प्रस्ट्याउँदै अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको खेलका रूपमा समेत संघले लिएको छ। उनले साउथ एसियनसँगै ‘अन्तर्राष्ट्रिय ओपन कम्पिटिसन’ ले पोखराको एडभेन्चर स्पोटर््स प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। ट्रायथलन खेलमार्फत पोखराको स्पोटर््स टुरिजममा नयाँ आयाम थपिने विश्वास संघले लिएको छ।

प्रतियोगितामा ३० लाख रुपैयाँ खर्च हुनेछ। खर्चका लागि स्थानीय र प्रदेश सरकारसँगै खेलकुदका निकायसँग सहयोगको लागि प्रस्ताव गरिने संघका अध्यक्ष देवकोटाले सुनाए। ट्रायथलन च्याम्पियनसिपले पोखरालाई साहसिक खेलकुदको गन्तव्यस्थलको रूपमा परिचित गराएको छ। राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा ट्रायथोलन एकेडेमी निर्माण गर्न ३० लाख रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ। उपलब्ध बजेटबाट पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीमा आवश्यक जग्गा छुट्ट्याई काम सुरु गरिएको छ।

नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले साइक्लिङ ट्य्राक, स्विमिङ पुल, आवासीय भवनसहितको पूर्वाधार तयार गर्ने योजना रहेको बताए। उनका अनुसार अहिलेको पाँच लाख रुपैयाँबाट सर्भेसहित गुरुयोजना बनाइनेछ। ट्रायथोलनको पूर्वाधारसहित तालिम केन्द्र बनाउन झन्डै ४० करोड खर्च हुने प्रारम्भिक अनुमान गरिएको उनले बताए। च्याम्पियनसिपलाई जापानिज संस्था एनटिटीले मुख्य प्रायोजन गरेको छ। एनटिटी जापानको टेलिभिजन संस्थासमेत रहेको संघले जनाएको छ। संस्थाले ७ हजार डलर उपलब्ध गराउनेछ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा ट्रायथोलन एकेडेमी निर्माण गर्न ३० लाख रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ। उपलब्ध बजेटबाट पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीमा आवश्यक जग्गा छुट्ट्याई काम सुरु गरिएको छ।

 

प्रकाशित: १३ वैशाख २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App