१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विशाल मेमोरियल गोल्डकप : सिलिगुडीलाई हराउँदै झापा सेमिफाइनलमा

झापा –११ (नीलो जर्सी) र भारत सिलिगुडीको रोयल फुटबल क्लब (रातो जर्सी ) का खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : रितेश/नागरिक

वीरगन्ज – झापा–११ वीरगन्जमा जारी दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार नारायणी रंगशालामा भएको खेलमा भारत, पश्चिम बंगाल सिलीगुडीको रोयल फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै झापा अन्तिम ४ मा प्रवेश गरेको हो।

झापाको जितमा राजकुमार कान्दङ्वा, आशीष चापागाईं, शक्ति राई र विकेस लिम्बुको गोल गरे। पराजित टोलीका सिद्धान्त क्षेत्री र करन राईले एक–एक गोल फर्काए। झापाले खेलको ७ औं मिनेटमा राजकुमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

१८ औं मिनेटमा सिलिगुडीका कप्तान अफजल अन्सारीले डिबक्स भित्र झापाका शक्ति राईलाई लडाएपछि प्राप्त पेनाल्टीमा आशीष चापागाईंले गोल गरेपछि झापाले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–० ले पछि परेको सिलिगुडीका लागि ६० औं मिनेटमा सिद्धान्तले गोल गर्दै अग्रता छोट्याएका थिए। 

लगत्तै, दोस्रो हाफको ७९ औं मिनेटमा झापाका शक्तिले गोल गर्दै अग्रता ३–१ मा पुर्याएका थिए। ८१ औं मिनेटमा करन राईले गोल गर्दै सिलिगुडीलाई खेलमा फर्काउने संकेत गरेका थिए। तर, निकै रोमाञ्चक देखिएको खेलमा अरु तीन मिनेट नबित्दै झापाका विकेशले थप एक गोल गरेपछि झापाले सिलिगुडीमाथि ४–२ को जित निकाल्यो।

खेलको म्यान अफ दि म्याच झापाका आशीष चापागाईं  घोषित भए। अब झापाले फाइनल प्रवेशका लागि बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा बुधबार आयोजक वीरगन्ज–११ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने छ।

प्रकाशित: १ माघ २०७५ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App