२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

फाइल तस्विर

काठमाडाैं -एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दाेस्राे अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

नेपाली टोलीले दिएको ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको अवस्थामा खराव प्रकाशका कारण खेल अघि बढ्न नसकेपछि खेलको निर्णय डकवर्थ लुइसका आधारमा गरिएको थियो, जसमा नेपाल १ सय ७६ रनको जित निकाल्न सफल भयो। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरी र सागर पुनको उत्कृष्ट ब्याटिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको थियो। नेपालका तर्फवाट उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय २१ रन जोडे। उनले ९६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन्। यस्तै सागर पुनले ८३ बलको सामना गर्दै ९२ रन जोडे। उनले ८ चौका र ३ छक्का प्रहार गरे। ८४ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो। दिपेन्द्र र सागरले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए। यस्तै अनिल शाह १७ , पारस खड्का २३, सुवास खकुरेल ९ तथा रोहितले ११ रन जोड्दा करन केसीले १२ बलमा २६ रन जोडेका थिए। 

३ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालको तिखो बलिङ सामु ब्लुमफिल्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन। ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाए। नेपालका लागि सागर पुनले ३ तथा ललित भण्डारीले दुई विकेट लिए। सागरले ८ ओभर बलिङ गर्दै १ मेडन राखी १६ रन खर्चिएर ३ विकेट लिएका हुन। यस्तै पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ १ विकेट लिए।

आजको खेलमा ज्ञानेन्द्र मल्ल विनोद भण्डारी तथा सोमपाल कामीलाई टोलीमा समावेस गरिएको थिएन। यसअघि आर्मी क्लब विरुद्ध भएको पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। ३ अभ्यास खेल खेल्न श्रीलंका पुगेको नेपाली टोलीले अन्तिम अभ्यास खेल आइतवार खेल्नेछ।  

 

प्रकाशित: ८ भाद्र २०७५ १२:३७ शुक्रबार

ब्लुमफिल्ड_क्लब नेपाली_क्रिकेट_टाेली विजयी