१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नयाँ सिजनमा केनको पहिलो गोल

फुलह्यामविरुद्ध गोल गरेपछि टोटेनह्यामका किरन ट्रिप्पियर (दायाँबाट दोस्रो) ।    तस्बिरः एपी

लन्डन – ह्यारी केनले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो गोल गरेको दिन टोटेनह्यामले शनिबार नवप्रवेशी फुलह्यामलाई ३–१ ले हराउँदै लिगमा शतप्रतिशत नतिजा निकालेको छ। 

इङ्ल्यान्डका फरवार्ड केनले यसअघिका १४ खेलमा गोल गर्न सकेका थिएनन् । तर शनिबार खेल सकिन १३ मिनेट बाँकी रहँदा गोल गरेका हुन् । त्यसअघि ४३औं मिनेटमा लुकास मोउराले टोटेनह्यामलाई अग्रता दिए। 

५२औं मिनेटमा फुलह्यामका एलेक्जेन्डर मित्रोभिचले बराबरी गोल फर्काए । ७४औं मिनेटमा किरन ट्रिप्पियरले गरेको गोलमा घरेलु टोलीले पुनः अग्रता लियो । त्यसको ३ मिनेट बित्न नपाउँदै केनले अर्को गोल थप्दै टोटेनह्यामको जित पक्का गरे। 

टोटेनह्यामले पहिलो खेलमा न्युक्यास युनाइटेडलाई पराजित गरेको थियो । फुलह्यामको यो दोस्रो हार हो । फुलह्याम पहिलो खेलमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको थियो। 

इङ्ल्यान्डका फरवार्ड केनले यसअघिका १४ खेलमा गोल गर्न सकेका थिएनन्।

यस्तै शनिबारै एर्भटनले साउथह्याम्पटनमाथि २–१ को जित दर्ता गरेको छ । एर्भटनको जितमा थियो वालकट र रिचार्डलिसनले गोल गरेका थिए । ड्यानी इङ्सले गरेको गोल साउथह्याम्पटनका लागि सान्त्वना बन्यो।

फरवार्ड जेमी भार्डेले रातो कार्डको सामना गरे पनि लेस्टर सिटीले नवप्रवेशी उल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हरायो । म्याट डोहार्टीको आत्मघाती गोलमा अग्रता लिएको लेस्टरका लागि दोस्रो गोल जेम्स म्याडिसनले गरेका थिए । भार्डेले ६६ मिनेटमा रातो कार्डको सामना गरेपछि घरेलु टोलीले बाँकी समय १० खेलाडीमा खेलेको थियो। 

वेस्ट ह्याम युनाइटेड घरेलु मैदानमा बर्नमाउथसँग २–१ ले पराजित भयो । ३३औं मिनेटमा मार्को अर्नाटोभिचले गरेको गोलमा वेस्ट ह्यामले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा तीन अंक गुमायो । कालुम विल्सनले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए भने स्टेभ कुकले ६६औं मिनेटमा गरेको गोल बर्नमाउथलाई जिताउन पर्याप्त बन्यो।

प्रकाशित: ३ भाद्र २०७५ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App