१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओजिलको कप्तानीमा आर्सनलको प्रभावशाली जित

सिंगापुर – आर्सनलले सिजनपूर्वको अभ्यास खेलअन्तर्गत इन्टनेसनल च्याम्पियन्स कपमा पहिलो जित हात पार्दा शनिबार पेरिस सेन्ट जर्मन (पिएसजी) माथि ५–१ को प्रभावशाली जित दर्ता गर्दै सिंगापुर भ्रमणको सुखद अन्त्य गरेको छ।

पिएसजीविरुद्धको खेलमा मिडफिल्डर मेसुट ओजिलले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । ओजिलले गत साता आफूमाथि जातीय दुव्र्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए । उनी एट्लेटिको मड्रिडविरुद्धको खेलमा टोलीमा समावेश भए पनि मैदान प्रवेश भने गरेका थिएनन् । आर्सनलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ३–१ को नतिजा सुम्पिएको थियो।

खेलको १३ औं मिनेटमा ओजिलले पिरे इमरिक औबामेयाङको पासमा गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ६०औं मिनेटमा क्रिस्टिोफर एनकुन्कुले काएन्टर अट्याकमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काएका थिए।

तर एलेक्जेन्डर लाकाजेट्ले ४ मिनेटको अन्तरमा गरेको दुई गोलमा आर्सनलले अग्रता लिँदै सहज जितको संकेत गरेको थियो । ६७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका लाकाजेटले त्यसको ४ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता ३–१ मा पुर्याएका थिए ।

खेल सकिन ३ मिनेट बाकी हुँदा आर्सनलले २ गोल थप्दै प्रभावशाली जित पक्का गर्याे । ८७ औं मिनेटमा रोब होल्डिङले गोल गर्दै आर्सनलको अग्रता बढाएका थिए । अन्तिम मिनेटमा इड्वार्ड नेकियातले गोल गर्दा आर्सनलले ५–१ को जित हात पारेको हो।

आर्सनलले बुधबार डब्लिनमा चेल्सीको सामना गर्नेछ भने त्यसको तीन दिनपछि लाजियोविरुद्धको खेलसँगै सिजनपूर्वको अभ्यास भ्रमण समापन गर्नेछ । त्यस्तै पिएसजीले सोमबार एट्लेटिको मड्रिड र अन्तिम खेलमा मोनाकोको सामना गर्नेछ।

 

प्रकाशित: १३ श्रावण २०७५ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App