१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दक्षिण कोरियाविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

रूस – स्विडेनविरुद्ध शनिबार इन्जुरी समयमा टोनी क्रुसले गरेको निर्णायक गोलमा हात पारेको जितले साबिक विजेता जर्मनीका खेलाडी र प्रशिक्षण टोलीमा उत्साह थपिएको थियो । तर प्रशिक्षक जोचिम लोउले बुधबार समूहको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दा टोलीमा केही परिवर्तन आवश्यक भएको बताए।

पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना ब्युँताएको थियो । जर्मनीलाई अन्तिम १६ प्रवेश गर्न दक्षिण कोरियासँगको खेलमा जित एक मात्र विकल्प हो । त्यसमा पनि समूहको अर्को खेलमा मेक्सिकोले स्विडेनलाई हराउनुपर्नेछ वा आफूले फराकिलो अन्तरमा जित्नुपर्नेछ।

लोउले स्विडेनविरुद्धको खेलमाा मेसुट ओजिलसहितका तीन मुुख्य खेलाडीलाई मैदानबाहिर राखेका थिए । स्विडेनविरुद्धको खेलमा रातो कार्ड सामना गरेका जेरोम बोएटिङ र नाकको चोटका कारण मिडफिल्डर सेवास्टिन रुडी दक्षिण कोरियाविरुद्धको खेलमा अनुपस्थित रहनेछन्।

‘पछिल्लो खेलमा मेरा खेलाडी थकित देखिए,’ लोउले भने, ‘जेरोम बोएटिङ रातो कार्डका कारण निलम्बनमा छन् भने सेवास्टिन रुडीको नाक भाँच्चिएको छ । निलम्बनमा परेका र घाइते भएका खेलाडी मैदान फर्कन अझै केही दिन लाग्नेछ ।’
अर्का रक्षक माट्स हुमेल्सको चोटका कारण समस्यामा रहेको जर्मनी बोएटिङको अनुपस्थितिले थप चिन्तित बनेको छ । हुमेल्सले काँधको समस्याका कारण स्विडेनविरुद्धको खेल गुमाएका थिए।

लोउले हुमेल्स पछिल्लो केही दिनयता अभ्यासमा सहभागी नभए पनि दक्षिण कोरियाविरुद्धको खेलका लागि टोलीमा फर्कने विश्वास व्यक्त गरे।

यता लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरिइसकेको दक्षिण कोरिया जर्मनीविरुद्ध जित हात पार्दै रूस विश्वकपको सुखद अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा स्विडेनलाई १–० को नतिजा सुम्पिएको दक्षिण कोरिया दोस्रो खेलमा मेक्सिकोसँग २–१ ले पराजित भएको थियो।

 

प्रकाशित: १३ असार २०७५ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App