१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

काठमाडौं – विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा ११ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर अष्ट्रियाका लागि ५३ औं मिनेटमा मार्टिन हिन्टेरेगर र ६९ औं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गर्दै जर्मनीलाई स्तब्ध पारेका हुन्। अष्ट्रियाले जर्मनीलाई ३२ वर्षपछि हराएको हो।

रातिनै सम्पन्न अर्को खेलमा इङल्याण्डले नाईजेरियालाई २–१ ले हरायो। इङल्याण्डको जितमा ७ औं मिनेटमा ग्यारी केहिल र ३९ औं मिनेटमा ह्यारी केनले गोल गरे। पराजित टोली नाईजेरीयाका लागि एलेक्स इओबीले ४७ औं मिनेटमा एक गोल फर्काए।

त्यस्तै बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। दुबै टोलीले पाएका केही मौका सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए। यो खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्।

यसैगरी अन्य खेलहरूमा आयरल्याण्डले अमेरिकालाई २–१, नर्वेले आईसल्याण्डलाई ३–२, चीनले थाईल्याण्डलाई २–०, केन्याले न्युजिल्याण्डलाई २–१, लात्भियाले ईस्टोनियालाई १–०, स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले पराजित गर्दा डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन्। विश्वकप फुटबल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App