१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

स्यान्टुको आफूलाई सिद्ध गर्ने जमर्काे

काठमाडौं – विगतलाई फर्केर हेर्ने हो भने नेपालले टिम स्पर्धाबाट भन्दा एकल विधाका खेलबाट धेरै पदक जितेको छ । तर पछिल्लो तथ्याङ्कलाई नियाल्दा नेपाली खेलाडीहरूले एकल विधामा सोचेअनुरूप सफलता हात पार्न सकेका छैनन्।

अन्तर्राष्ट्रिय प्रतियोगितालाई एकातिर थाती राखेर घरेलु प्रतियोगितालाई मात्र हेर्ने हो भने टेबलटेनिसका स्यान्टु श्रेष्ठ वर्षभर चर्चामा रहे । १८ वर्षको कलिलो उमेरमै स्यान्टुले टेबलटेनिसको गत वर्ष भएका सबै प्रतियोगितामा आफ्नो प्रभाव जमाउन सफल भए।

राष्ट्रिय स्तरका चार प्रतियोगितामध्ये स्यान्टुले तीनमा स्वर्ण पदक जिते । नेपाल पुलिस क्लबका स्यान्टुले वर्षभर खेलेका झन्डै तीन दर्जन प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गरे । जसमध्ये एउटाको फाइनलमा मात्र उनले पराजय भोग्नुपर्याे। बाँकी सबैमा उनले उपाधि जिते।

टेबलटेनिसमा वर्षभर एकल वर्चस्व बनाएका स्यान्टुले राष्ट्रिय टोली छनोटका लागि भएको प्रतियोगिताअन्तर्गत पुरुष एकल, पुरुष युगल र टिम स्पर्धामा स्वर्ण पदक जिते । त्यसअघि ठमेल खुला च्याम्पियनसिपमा पनि पुरुष एकल र टिम स्पर्धामा पहिलो स्थान हात पारे । पूर्णमान स्मृति खुला टेबलटेनिस प्रतियोगिता फाइनल स्यान्टुले हारेको एक मात्र फाइनल हो।

लगातार उत्कृष्ट नतिजा ल्याइरहेका स्यान्टु टेबलटेनिसका उज्ज्वल नक्षत्र हुन् । वर्षभर चर्चामा रहेका उनै स्यान्टु पल्सर स्पोर्टस अवार्ड २०७४ को ‘पिपुल्स च्वाइस’ विधाको मनोनयनमा पर्न सफल भएका छन् । टेबलटेनिसकै नविता श्रेष्ठले २०७२ मा अवार्ड जितेकी थिइन्।

घरेलु क्षेत्रमा लोकप्रियता मापन गर्ने पल्सर स्पोटर्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधामा स्यान्टु आफूलाई सिद्ध गर्ने जमर्को गर्दै छन् । त्यसका लागि स्यान्टुले क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र फुटबलका किरण चेमजोङलाई पछि पार्नुपर्नेछ।

यसअघि आम जनताको भोटिङमार्फत मात्र विजेताको छिनोफानो हुँदै आएको पिपुल्स च्वाइस अवार्डका लागि यस पटक प्रक्रियामा केही परिवर्तन गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मतभार २५ प्रतिशत र विभिन्न खेलकुदका प्रशिक्षकहरूको मत २५ प्रतिशत हुनेछ।

दर्शकहरूले एसएमएस र फेसबुक लाइकमार्फत गरेको मतको मतभार ५० प्रतिशत हुनेछ । चार फेसबुक लाइक बराबर एक एसएमएस गन्ती हुनेछ । एसएमएस भोटिङका लागि टिएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ पार्टनर रहेको छ । पिपुल्स च्वाइस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

प्रकाशित: ३० वैशाख २०७५ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App