नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेपछि प्लेअफमा पुग्ने काठमाडौं गुर्खाजको सम्भावना कायमै रहेको छ । लिग चरणका ७ खेलमध्ये दुईमा मात्र जित निकालेको विराटनगर भने मात्र ४ अंकका साथ लिग चरणमै रोकियो ।
जितपछि प्लेअफ खेल्ने सम्भावना कायम राखेको काठमाडौंको भने ७ खेलबाट ८ अंक भएको छ । यद्यपि प्लेअफमा स्थान बनाउने बाँकी तीन टिमको टुंगो भने आइतबारै हुने सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्स तथा सोमबार हुने सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलले लगाउनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा प्रतिक श्रेष्ठले ३९ र शंकर रानाले नटआउट १६ रन बनाए ।
विराटनगरका क्याप्टेन सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान २ विकेट लिएपनि हार भने टार्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको विराटनगर निर्धारित ओभर सकिन एक बल बाँकी छँदै ११७ रनमा अलआउट भएको थियो । राजेश पुलामीले सर्वाधिक २५ र दीपक बोहोराले २० रन बनाए ।
विराटनगरलाई कम योगफलमा रोक्न गेरार्ड ह्रासमुसले ३ र दीपेश कँडेलले २ विकेट लिए ।
प्रकाशित: ३० मंसिर २०८१ १२:३२ आइतबार