नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। खेल र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ।
आजको खेलमा लुम्बिनी जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार बेहोरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ।
यता,करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा उसले पनि एक खेलमा जित हासिल गरेको छ। रोहित पौडेलको कप्तानिमा रहेको लुम्बिनीको पनि समान दुई अंक नै छ। तर उसले ५ वटा खेल खेलिसकेको छ। त्यसैले आजको खेल लुम्बिनीका लागि गर या मरको अवस्थामा छ।
त्यस्तै काठमाडौंले आज हार ब्योहरे उसको पनि प्लेअफको यात्रा कठिन हुने देखिन्छ। काठमाडौंले भोलि शीर्ष स्थानको जनकपुर बोल्ट्सको सामना गर्नुपर्ने तालिका छ।
जनकपुरसँगको खेल काठमाडौंलाई सकस पर्न सक्छ। जनकपुरले जारी एनपिएलमा एक खेल पनि हारेको छैन। त्यसैले काठमाडौ आफ्नो यात्रालाई सहज पार्न सबैभन्दा धेरै खेल हारेको लुम्बिनीलाई आज हराउने लक्ष्यसहित मैदान उत्रने छ।
प्रकाशित: २६ मंसिर २०८१ ०७:५१ बुधबार