४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएल : पोखराको कमजोर ब्याटिङ, चितवनको लगातार दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले पोखरामाथि ८७ रनको प्रभावशाली जित दर्ता गर्यो ।  

१६२ रनको लक्ष्य पछ्याएको पोखराले कमजोर ब्याटिङ गर्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै ओभरमा तीन तीन विकेट लिएपछि पोखरा १३.२ ओभरमा ७४ रनमा समेटियो । क्याप्टेन कुशल भुर्तेल र बास डी लिड गोल्डेन डकआउट भए भने भिचेल लिस्कले पनि खातै खोल्न पाएनन् । दिलिप नाथ चार रनमा आउट हुँदा निदेश खरेल, किरण ठगुन्ना र रेमन रेइफरले एकएक रन जोडे ।  

पोखराले ६.२ ओभरमा १७ रन जोड्दा ७ विकेट गुमाएको थियो । मार्कस क्रिच्ली र नारायण जोशीले आठौं विकेटका लागि ३० रनको साझेदारी गरेपनि पर्याप्त हुन सकेन । क्रिच्ली १७ रनमा एलबीडब्लू धरापमा परे । नारायणले ३० रन बनाए । २४ बल खेलेका नारायणले २ छक्का र ३ चौका प्रहार गरे । विपिन खत्रीले ९ रन जोडे ।  

लुक बेन्केन्स्टेनको नाममा तीन विकेट रह्यो । दीपक बोहोराले एक विकेट लिए ।  

यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। उसका लागि रवि बोपाराले ५१ रन बनाए । ३८ बलको सामना गरेका उनले समान तीन(तीन चौका र छक्का प्रहार गरे ।  

क्याप्टेन कुशल मल्ले ३८ रन जोडे । कुशलले चौथो विकेटका लागि रविसँग ६८ रनको साझेदारी गरे ।  

पोखराका लागि विपिन कार्की, बास डी लि र रेमन रेइफरले समान २-२ विकेट लिए ।  

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो भने पोखराको भने यो पहिलो खेल हो ।  

मंगलबार नै भएको अर्को खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको थियो । 

प्रकाशित: १८ मंसिर २०८१ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App