साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ। तर, पनि आजको सेमिफाइनलका लागि नेपाल छिमेकी राष्ट्रलाई प्रतिद्वन्द्वीका रूपमा चाहन्थ्यो।
सेमिफाइनलमै भारतलाई रोक्न सके साफ इतिहासमा पहिलो उपाधि जित्न उच्च मनोबल बढ्ने नेपाली टोलीको विश्वास छ। त्यही भएर नेपालले समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध जसरी पनि ६ गोल गर्ने र विजेता बन्दै भारतसँग भेट पक्का गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा पनि भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजै हुने दोस्रो सेमिफाइनलमा यी दुई टोली नै आमुन्नेसामुन्ने हुँदै छन्। तर, के प्रश्न उठ्छ भने भुटानसँग बराबरीमै रोकिएको नेपाल भारतलाई रोक्न सक्षम छ त ?
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताअघि नै आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए। तर, लक्ष्य लिँदैमा जित सम्भव छैन, सोहीअनुरूप प्रदर्शन पनि गर्नुपर्छ। अहिलेसम्मको प्रदर्शन हेर्दा नेपाली टोली ठ्याक्कै कुन अवस्थामा छ भन्न सकिँदैन। किनभने नेपालको क्षमता मैदानमा बलियो टोलीविरुद्ध प्रस्फुटन हुन पाएको नै छैन। लिगविहीन माल्दिभ्स र श्रीलंकामाथि गोलवर्षा गर्दै अन्तिम चारमा पुगेको यो टोलीप्रति गर्व गर्दा सही मूल्यांकन हुँदैन। यस्तोमा यो टोलीको स्तर मापन भनेको भारतविरुद्धको खेलमा नै हो। त्यसैले नेपाली टोली र प्रशिक्षक तामाङको परीक्षा आइतबार नै हुनेछ।
के रणनीति बनाउने र कसरी मैदान उत्रिने रु तर, राजेन्द्र आफ्नो टोली हरेक चुनौती पार गर्न सक्षम रहेको ठान्छन्। ‘भारतसँगको पहिलो खेल विश्लेषण गर्छौं। खेलाडी धेरै थाकेको कारण मैदानमा धेरै काम गर्न सक्ने अवस्था छैन। तर, लक्ष्य चाहिँ जसरी पनि सेमिफाइनल जित्नु हो,’ उनी भन्छन्। नेपाल र भारत तेस्रोपल्ट अन्तिम चारमा भिड्न लागेका हुन्। सन् २०१६ को चौथो संस्करणको साफको अन्तिम चारमा नेपाल ३–१ ले पराजित भएको थियो। दोस्रोपल्ट अघिल्लो संस्करणमा भेट्दा रश्मिकुमारी घिसिङको एक मात्रै गोल निर्णायक बन्यो।
त्यतिबेला नेपालले ६ वर्षअगाडिको बदला मात्रै लिएन भारतलाई पहिलोपल्ट उपाधिविमुख बनाएको थियो। अहिले पनि रश्मि लयमा छिन्। उनले दोस्रो हाफको इन्जुरी समयमा हेडरमार्फत गरेको गोलले नै नेपाल समूहविजेता बनेको हो। जारी साफमा उनीबाहेक रेखा पौडेलले सात, अमिशा कार्की र सविता रानामगरले समान दुई गोल गरेका छन्। अनिता केसी र सावित्रा भण्डारीले पनि एक गोल आफ्नो नाममा लेखाइसकेका छन्। तर, ६ खेलाडीले १४ गोल गरिसक्दा पनि नेपालले सेट पिसबाट एकभन्दा बढी गोल निकाल्न सकेको छैन।
अर्कोतर्फ युरोपमा व्यावसायिक लिग खेल्ने एक मात्रै खेलाडी सावित्राको खेल पनि राजेन्द्रले आशा गरेजस्तो छैन। यता, टोलीका प्रायः खेलाडी थकित रहेकाले पनि निर्णायक खेलमा असर पर्ने देखिन्छ। डिफेन्स लाइन कस्तो छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन। किनभने नेपालले खेलेका खेलमा बल डिफेन्डरसामु नै पुग्न सकेको छैन। तर, भारत ठिक विपरीत छ। पहिलो खेलमा पाकिस्तानविरुद्ध सहज जित निकाले पनि बाङ्लादेशँगको हारले भारतलाई आफू कुन स्थितिमा छ मूल्यांकन गर्न मद्दत मिलेको छ। त्यसले पनि भारतीय टोलीका मुख्य प्रशिक्षक सन्तोष कश्यपलाई केही सहज हुनेछ।
उनी खेलअघि भन्छन्, ‘अट्याकिङदेखि सबै स्थानमा सुधार गर्नुपर्ने देखिएको छ। यो सबै सुधार गरेर मैदान उत्रिने छौं । सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वी भए पनि हामी तयार छौं।’ पाँच पटकको उपविजेता नेपाल उत्साही हुने भनेको घरेलु दर्शकको बलियो साथले हो। यसले भारतलाई केही असहज परिस्थिति सिर्जना गर्न सक्छ। भारत अधिकांश युवा खेलाडी लिएर मैदान उत्रिएको छ। यी खेलाडीले यसअघि यस्तो भीडको अनुभव नगरेको हुन सक्छ।
नेपालको मुख्य हतियार मानिएकी सावित्रासँग बालादेवीले दुई सिजन इन्डियन वुमेन्स लिग ९आइडब्लुएल० सँगै खेलिसकेकी छन्। केही समयअघि मात्रै ५०औं अन्तर्राष्ट्रिय गोल पूरा गरेकी उनी प्राविधिक रूपमा कति बलियो र कति कमजोर छिन् सायद बालाको अघि ‘ओपनर सिक्रेट’ नै छ। त्यसैले भारतको लक्ष्य उनलाई रोक्नु हुनेछ। अर्कोतर्फ भारत आक्रामक फुटबल खेल्न रुचाउँछ । त्यसैले उसको मुख्य लक्ष्य ‘अट्याकिङ थर्ड’ लाई चुस्त बनाउने हुनेछ। उक्त क्षेत्रमा मनीषा, ग्रेस डांगमेई र सौम्या गुगुलोथ प्रभावकारी मानिन्छिन्। उनीहरूमा गति तीव्र छ। त्यसैले भारतले नेपाली डिफेन्डरलाई व्यस्त बनाउन सक्नेछ।
यस्तोमा नेपालसँग अनुभवी लेफ्ट डिफेन्डर हीराकुमारी भुजेल नहुनु र पूजा रानाले पनि सेमिफाइनल लगभग गुमाउनपर्ने स्थितिमा पुग्नुले भारतलाई केही फाइदा मिल्न सक्नेछ। हीराको अनुपस्थितिमा ३–५–२ फर्मेसनमा खेलाइरहेका राजेन्द्रले अब कस्तो रणनीति अपनाउँछन् र टोलीको यात्रा कहाँसम्म पुग्छ यही खेलमा देखिनेछ।
प्रकाशित: ११ कार्तिक २०८१ ०७:२१ आइतबार