२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा यु–१८ युथ लिग: लयमा फर्कियो मच्छिन्द्र

निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा रोनिक रानामगरले गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले बिहीबार ललित स्मृति एन्फा यु–१८ युथ लिगमा एफसी खुमलटारमाथि जित हासिल गरेको छ।

यससँगै पछिल्ला दुई खेलमा सातदोबाटो (१–१) र जावलाखेल युथ क्लब (२–२) सँग बराबरी खेलेको मच्छिन्द्रले लिगमा लय समात्न थालेको छ। जितसँगै मच्छिन्द्रले चार खेलबाट ६ अंक जोडेको छ। पराजित खुमलटारको भने समान खेलबाट तीन अंक मात्रै छ। पहिलो हाफमा दुवै टोलीले केही आक्रामक मुभ बनाए पनि सदुपयोग गर्न सकेका थिएनन्। तर, ६०औं मिनेटमा कविर तामाङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। अनिश थिङले दिएको लामो पासलाई डी बक्सनजिक खुमलटारका डेनजेङ मोक्तानले क्लिअर गर्ने प्रयास गरेका थिए। तर, उनी सफल नहुँदा कविरले खुमलटारका सुसन जबेगुलाई बिट गर्दै माथिल्लो बारबाट गोल गर्न सफल भए। तर, त्यसको तीन मिनेटपछि नै पवन दर्लामीले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए।

एलिक श्रेष्ठलाई समीर थापाले लडाएपछि रेफ्री दीपक श्रेष्ठले खुमलटारलाई फ्रिकिक दिएका थिए। जसमा डी बक्सनजिकबाट पवनले दोस्रो बार च्यापेर प्रहार गरेको बल सीधै गोलमा परिणत भयो। ९०औं मिनेटमा मच्छिन्द्र पुनः खेलमा फर्कियो। भूषण थापामगरले डेनजेङलाई बिट गर्दै दिएको बललाई डी बक्सभित्र अनमार्क रहेका रोनिक रानामगरले हेडरमार्फत बल प्रहार गरी जाली चुमाएका थिए।

अर्को खेलमा लिगमा कमजोर प्रदर्शन गरिरहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चर्च बोइजले २–० गोलअन्तरले पाखा लगाएको छ। चर्च बोइजको यो दोस्रो जित हो। यसअघि चर्च बोइजले थ्री स्टार क्लबलाई १–० ले पाखा लगाएको थियो भने संकटासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। यससँगै चर्च बोइजले चार खेलबाट सात अंक जोडेको छ। आर्मीले भने लिगमा तेस्रो हार बेहोरेको छ। चार खेलको समाप्तिमा आर्मीको एक अंक मात्रै छ।

७४औं मिनेटमा दावाछिरिङ लामाले गोल गर्दै चर्च बोइजलाई सुरुआती अग्रता दिलाएका थिए। दीपेश दुम्जनलाई बिट गर्दै कर्नर पोइन्टबाट अनिश श्रेष्ठले दिएको लामो पासलाई गोल लाइनजिक रहेका दावाले ड्राइभ हेडिङ गर्दै बललाई जाली चुमाए। ८९औं मिनेटमा शिशिर यशस्मीले अर्को गोल थपे।

थ्रु पासमार्फत आएको बललाई सन्दीप ठाडामगरले डी बक्सभित्र प्रहार गरेका थिए। सोही बललाई अनमार्कमा रहेका शिशिरले हेडिङ गर्दै जाली चुमाउन सफल भए। उनी पासाङ लामाको स्थानमा ७५औं मिनेटमा मैदान छिरेका थिए।

प्रकाशित: ११ श्रावण २०८१ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App