१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

भलिबलमा सेमिफाइनल समीकरण पूरा

अन्तरप्रदेश खेलकुद

लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेश बुधबार प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ सेमिफाइनलमा पुगेका छन् ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा पहिलोपटक सुरु भएको अन्तरप्रदेश खेलकुदको महिला भलिबलमा यी चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्। अब सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेश र बागमतीले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुषमा भने गण्डकी, कर्णाली, सुदूरपश्चिम र कोशी सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलमा कोशीले कर्णालीसँग तथा सुदूरपश्चिमले गण्डकी प्रदेशसँग खेल्नेछ। महिलामा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २५–११, २५–१६ र २५–९ तथा कर्णालीले मधेस प्रदेशलाई २५–२०, २५–१० र २५–१९ ले हरायो।

महिलामा नै कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको हो। गण्डकीले कोशीमाथि २५–१८, २५–२३ र २५–२२ को जित निकाल्यो। पुरुषतर्फ भने लुम्बिनीले बागमती प्रदेशलाई २५–९, २५–१३ र २५–१९ को सोझो सेटमा हरायो।  दोस्रो खेलमा कोशीले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकाल्यो। कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ को सेटमा जित निकालेको हो। पुरुषको अन्तिम खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–२ को सेटमा हरायो। गण्डकीले कर्णालीमाथि २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को संघर्षपूर्ण जित निकाल्यो।

पुरुष क्रिकेटमा गण्डकी र कर्णालीको जित

गण्डकी र कर्णाली प्रदेशले अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सहज जित निकालेका छन्। बुधबार भएको खेलमा गण्डकीले बागमती प्रदेशलाई ३२ रनले हरायो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको २३५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। बागमतीका रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले पनि पर्याप्त भएन।

शुभ कन्सकार र तिलकराज भण्डारीले समान ३७ रन जोड्दा उत्तम थापामगरले २५ रन बनाए। गण्डकीको बलिङमा विपिन खत्री र शुभास भण्डारीले २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रनको योगफल बनायो ।

गण्डकीका दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक बनाए। दीपकले ७५ रन र अर्जुनले ५५ रन जोडे। सन्दीप खत्रीले २७ रन र करनले २४ रन बनाए। बागमतीको बलिङमा रिजन ढकाल र कृजन गुरुङले समान विकेट लिए। बुधबारकै दोस्रो खेलमा कर्णालीले कोशी प्रदेशमाथि १० रनको जित निकाल्यो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९८ रन बनायो।

महिला फुटबलमा कोशी फाइनलमा

कोशी प्रदेश अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। भरतपुरको शारदानगर फुटबल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोलअन्तरले हराउँदै कोशी उपाधिनजिक पुगेको हो। कोशीको जितमा प्रतीक्षा राईले दुई गोल गरिन्। १७औं मिनेटमा प्रतीक्षाले गोल गर्दै मधेसलाई अग्रता दिलाइन्। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोशीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। प्रतीक्षाले नै ६२औं मिनेटमा गोल गर्दै कोशीलाई फाइनलमा पुर्‍याइन्। उनी प्लेअर अफ दी म्याचसमेत घोषित भइन्। अब कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ।

प्रकाशित: २९ चैत्र २०८० ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App