५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

भारतसँग नेपालको फराकिलो हार

भारतविरुद्ध ब्याटिङ गर्दै नेपालका अर्जुन कुमाल। बलिङ गर्दै आकाश चन्द (तल) । तस्बिर सौजन्य : क्यान

नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगौङ ओभलमा भारतले दिएको दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा एक सय ६५ रन मात्र बनाउन सक्यो।

यो हारसँगै नेपालले जारी विश्वकपको यात्रा पनि टुङ्ग्याएको छ। समूहचरणको खेलमा अफगानिस्तानमाथि रोमाञ्चक एक विकेटको जित निकाल्दै सुपर सिक्समा खेल्न पाएको नेपालले त्यसपछि खासै राम्रो प्रदर्शन भने गर्न सकेन। टेस्ट राष्ट्र बंगलादेश र भारतसँग सहजै नतिजा सुम्पिन पुग्यो। सुपर सिक्सको दोस्रो खेलमा पनि नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन।

सुरुमा दबाब बनाए पनि दुई भारतीय ब्याटरले शतक बनाउँदा नेपालले विशाल लक्ष्य पायो। जबाफमा नेपालले सुरुआती चरणमा धैर्यपूर्वक ब्याटिङ गरे पनि निरन्तरता दिन सकेन। नेपालका लागि कप्तान देव खनालको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत योगदान रह्यो।

ओपनरद्वय दीपक बोहोरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाए। १४औं ओभरमा राज लिम्बानीले दीपकलाई २२ रनमा कट एन्ड बोल्ड गरे। त्यसपछि भने नेपालका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्। त्यसपछि उत्तम मगर ८ रनमै आउट भए।

२४औं ओभरमा अर्जुन पनि २६ रनमा साउमी पाण्डेद्वारा बोल्ड हुन पुगे। २३.१ ओभरमा नेपाल ७१÷३ को अवस्थामा थियो। त्यसपछि नेपालको इनिङ धराशयी बन्यो र ६ रन जोड्दा पाँच विकेट गुमायो। यस क्रममा विशालविक्रम केसी र गुल्सन झा समान १ रनमा आउट हुँदा दीपक डुम्रे र दीपेश कँडेलले खाता खोल्न सकेनन्।

त्यससँगै नेपाल २७.५ ओभरमा ७७÷७ को नाजुक अवस्थामा पुग्यो। लगत्तै सुवास भण्डारी पनि ५ रनमा नै पभेलियन फर्किए। एक छेउबाटमा कप्तान देवले इनिङ समाल्ने प्रयास गरे।

उनी पनि आउट भए र नेपाल ३८.५ ओभरमा १२०÷९ को अवस्था पुग्यो। तर, दशौं विकेटका लागि दुर्गेश गुप्ता र आकाश चन्दले अविजित ४५ रनको साझेदारी गरे पनि नेपालको फराकिलो हार टार्न सकेनन्। दुर्गेश २९ रनमा र आकाश १८ रनमा अविजित रहे।

४३ बल खेलेका दुर्गेशले दुई चौका र एक छक्का प्रहार गरेका थिए। भारतको बलिङमा साउमीले चार विकेट लिँदा अर्सिन कुलकर्नीले दुई तथा लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रनको योगफल खडा ग¥यो। गुल्सन झाले पाँचौं ओभरमा ओपनर आदर्श सिंहलाई २१ रनमा आउट गर्दै नेपाललाई छिटै सफलता दिलाए। १४औं ओभरमा भारतले दोस्रो विकेट गुमायो। प्रियान्सु मोलिया १९ रनमा रनआउट भए।

सोही ओभरमा अर्सिन कुलकर्नी पनि १८ रनमै पभेलियन फर्किए। उनलाई आकाश चन्दले विकेटकिपर उत्तम मगरद्वारा क्याच गराए। यससँगै १४औं ओभर सकिँदा भारत ६३÷३ को अवस्थामा पुग्यो। तर, सचिन दास र कप्तान उदय सहरनले चौथो विकेटका लागि २१५ रनको यादगार साझेदारी गरे।

यस क्रममा दुवैले शतक प्रहार गरे। सचिन ११६ रन र उदय एक सय रनमा आउट भए। सचिनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे। कप्तान उदयले १०७ बलमा ९ चौका हिर्काए। दुवैलाई नेपालका तीव्र गतिका बलर गुल्सनले पभेलियनको बाटो देखाएका हुन्।

यी दुवै ब्याटर चम्किएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य सामना ग¥यो, जुन पूरा गर्न सकेन। नेपालको बलिङमा गुल्सनले तीन तथा आकाश चन्दले एक विकेट लिँदा अन्य बलर विकेटविहीन भए। गुल्सनले १० ओभरमा ५६ रन र आकाशले ९ ओभरमा ६५ रन खर्चिए।

प्रकाशित: २० माघ २०८० ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App