१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

किरण, विमल र सन्दीपलाई राखेपको बधाई

काठमाडौं – भारतीय आई लिगका क्लबमा अनुबन्धित भएका फुटबलरद्वय किरण चेम्जोङ र विमल घर्तीमगर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) सँग आबद्ध सन्दीप लामिछानेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीहरूको वैदेशिक अनुबन्धनले सम्बन्धित खेलाडीको मात्र नभई समग्र नेपाली खेलक्षेत्रका लागि सुखद व्यावसायिक यात्राको प्रारम्भ गर्ने बताएका छन् ।

अघिल्लो साता नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण भारतीय आई लिगको शीर्ष टोली मिनर्वा पन्जाब तथा स्ट्राइकर विमल कोलकाताको महारथी मोहन बगानसँग अनुबन्धित भएका थिए । मोहन बगान हाल आई लिग अंकतालिकाको चौथो स्थानमा छ । किरणले शनिबार नेरोका क्लबविरुद्धको खेलमार्फत पन्जाबबाट डेब्यु गरिसकेका छन् ।

यसै गरी राष्ट्रिय टोलीका १७ वर्षे लेग स्पिनर सन्दीप आइतबार विश्वकै व्यावसायिक क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता आइपिएलको टोली दिल्ली डेयरडेभिल्ससँग २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए ।
‘नेपाली खेलकुदका उत्पादनहरू व्यावसायिक प्रतियोगिताका लागि विश्व खेलकुदमा सक्रिय हुँदै जानु समग्र खेलक्षेत्रकै लागि गौरवको विषय हो । यसले पछिल्लो समय हाम्रो खेलकुद सकारात्मक दिशामा अगाडि बढ्दै गएको संकेत दिएको छ,’ विष्टले भने, ‘हाम्रा खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नै विदेशी क्लबको ध्यान तानिने हो ।

 पर्याप्त भौतिक पूर्वाधार तथा साधन र स्रोतको अभाव, खेलमा लगानी गर्न हिचकिचाउने सरकारी प्रवृत्ति, खेलकुद विकासमा राजनीतिक प्रतिबद्धताको अभावका कारण सोचेजति प्रगति गर्न नसके पनि सीमित साधन र स्रोतका बावजुद नेपाली खेलकुदको नतिजा सन्तोष गर्नुपर्ने अवस्थामा छ । म किरण, विमल र सन्दीपसँगै विभिन्न देशमा व्यावसायिक प्रतियोगिता खेलेर देशको गौरव बढाउने खेलाडीलाई धन्यवाद दिन चाहन्छु ।’

 

प्रकाशित: १७ माघ २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App