इङ्ल्याण्ड – इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले १–१ को बराबरी खेलेका छन्। लिग अन्तर्गत बिहीबार राति सम्पन्न एक मात्र खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।
खेलको ७० औं मिनेटमा वेष्टह्यामका पेड्रो ओबियाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि खेलको ८४ औं मिनेटमा टोटनह्यामका सन हेङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित र इन्जुरी समयमा गोल हुन नसकेपछि दुवै टोलीले बराबरीमा चित्त बुझाएका हुन।
बराबरीपछि टोटनह्याम हट्सपरको २२ खेलबाट ४१ अंक भएको छ र उ तालिकाको पाँचौं स्थानमा कायम छ यता समान २२ खेलबाट २२ अंक जोडेको वेष्टह्याम भने १५ औं स्थानमा छ।
प्रकाशित: २१ पुस २०७४ ०२:५० शुक्रबार