१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेप च्यम्पियनसिप आइतबारबाट

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट आयोजना गर्न लागेको रापेख च्याम्पियनसिपमा तेक्वान्दोका दुई भिन्न प्रतियोगिताले निरन्तरता पाउने भएका छन् ।
एक महिनासम्म चल्ने प्रतियोगितामा २९ खेल समावेश गरिएको राखेपले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । तीन वर्षअघि लुम्बिनी च्याम्पियनसिपका नाममा भएको प्रतियोगिता यसपालिबाट परिवर्तित नाममा गराइन लागेको हो । च्याम्पियनसिपका खेलहरू सम्बन्धित संघले आयोजना गर्ने र राखेपले अनुगमन तथा निरीक्षण गर्नेछ ।
पूर्वाञ्चलमा गत वर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा तेक्वान्दोको एकै खेल सञ्चालन भए पनि राखेप च्याम्पियनसिपमा राष्ट्रिय तेक्वान्दो र तेक्वान्दोका दुई भिन्न खेल सञ्चालन हुने भएका छन् । त्यसअघि २०६८ मा सुदूर पश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि तेक्वान्दो र तेक्वान्दो युनियनका नाममा दुई प्रतियोगिता भएका थिए । राखेपका सदस्यसचिव केशवकुमार विष्टले सातौं राष्ट्रिय खेलकुद राखेपले आयोजना गरेकाले एकै ठाउँमा खेल्न सहमत भए पनि च्याम्पियनसिपमा संघले खेल सञ्चालन गर्ने भएकाले तेक्वान्दोका दुई भिन्न प्रतियोगिता हुन लागेको बताए ।
‘हामीले एकै खेलका समानान्तर संघलाई एक बनाउने प्रयास गरेका हौं । तर तेक्वान्दोका दुवै संघले पहिला नै राखेपबाट मान्यता पाइसकेका छन्,’ सदस्यसचिव विष्टले थपे, ‘क्रिकेटको समस्या हल गर्न खोज्दा झन् बल्झिएको छ । त्यसैले यस पटकलाई यथावत् रुपमा प्रतियोगिता गर्न लागेका हौं । तर, राष्ट्रिय टोली छनोट गर्दा पुनः प्रतिस्पर्धा गराउनेछौं ।’
लामो समयको विवादपछि अघिल्ला सदस्यसचिव युवराज लामाको पालामा तेक्वान्दोका दुई संघले राखेपमा दर्ता पाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई तेक्वान्दोबाहेक प्रतियोगितामा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लनटेनिस, ट्रायथोलन, फुटबल, कराते, ब्याटमिन्टन र सफ्टटेनिसमा महिला र पुरुष गरी ४ हजारभन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तथापि जाडोमा खेलाउन नसकिने भएकाले पौडी र ट्रायथलनको प्रतियोगिता सम्पन्न भइसकेका छन् । यसै गरी कराते र लन टेनिसको प्रतियोगिता पनि उद्घाटनअघि नै सम्पन्न भइसकेको सदस्यसचिव विष्टले बताए । विष्टले प्रत्येक दुई वर्षमा बृहत् राष्ट्रिय खेलकुद हुने कारण बीचको वर्षमा राखेप च्याम्पियनसिप हुने भन्दै यस वर्षको प्रतियोगितामा १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खेलाडी छनोट गरिने बताए ।
भलिबल, ह्यान्डबल र भारोत्तोलनका खेल पोखरामा, एथलेटिक्स इटहरी, कुस्ती र हक्की हेटौडा, टेबल टेनिस बुटबल, कबड्डी बर्दिया, खो खो रूपन्देही र सफ्ट टेनिस विराटनगरमा हुनेछन् । अन्य खेलहरू राजधानीमै हुनेछन् ।
स्क्वासका खेल पुस १० गतेबाट हुनेछन् भने भलिबल ११ र सेपाकताक्रोका खेल १२ गतेबाट सञ्चालन हुनेछन् । तेक्वान्दो, कुस्ती र फेन्सिङका खेल २० गते, बास्केटबल र जुडोका खेल २१ गते, बक्सिङ र टेबल टेनिसका खेल २२ गते, एथलेटिक्स र कबड्डीका खेलह २३, सुटिङका खेल २५, भारात्तोलनका २६, गल्फका २६ र साइक्लिङका खेल पुस २९ गतेबाट हुने राखेपले जनाएको छ । हक्की माघ १ गते, सफ्ट टेनिस २ तथा उसुका खेल माघ ४ गतेबाट सञ्चालन हुनेछन् । खो खो माघको पहिलो साता तथा ब्याड्मिन्टन पुसको अन्तिम साता हुने सदस्यसचिव विष्टले बताए ।

प्रकाशित: ९ पुस २०७४ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App