१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बार्सिलोनालाई रोक्नुपर्ने बाध्यतामा रियल

मड्रिड–साबिक विजेता रियाल मड्रिडका लागि स्पेनिस  ला लिगाको उपाधि रक्षा गर्ने आशा जीवित राख्न शनिबार आज घरेलु सान्टियागो बेर्नाबेउमा हुने ‘एल क्लासिको’मा बार्सिलोनाको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउन आवस्यक छ ।
ला लिगामा १६ औं चरणका खेल सकिँदा ४२ अंकका साथ शीर्ष स्थानमा भएको बार्सिलोनाले एक खेल कम खेलेको रियाललाई ११ अंकले पछि पारेको छ । रियाल चौथो स्थानमा छ । क्लब विश्वकपका कारण गत साता मड्रिड र लिगानेसविरुद्धको खेल सारिएको थियो ।
यी दुई टोली अन्तिम पटक बेर्नाबेउमा अगस्टमा स्पेनिस सुपर लिगको फाइनलमा भिडेका थिए । जहाँ रियालले समग्रमा ५–१ को जितका साथ उपाधिमाथि कब्जा जमाएको थियो ।
रियाल र बार्सिलोनाबीचका ४ महत्वूर्ण पक्षः

मेसी–अल्बाको तालमेल
ब्राजिली स्ट्राइकर नेइमारलाई विश्व कीर्तिमानी रकममा बेचेपछि बार्सिलोनाको अग्रपंत्ति तालमेलमा केही समस्या देखिएको थियो । तर जोर्डी अल्बाले आफूलाई प्रमाणित गर्दै टोलीमा नेइमारको अभाव खड्किन दिएका छैनन् ।
बार्सिलोनको अपराजित यात्रामा अग्रपंत्तिमा लियोनल मेसी र अल्बाको तालमेलले राम्रै प्रभाव छाडेको छ । अल्बाले मेसीका लागि जारी सिजन तीन गोलको अवसर सिर्जना गरिदिइसकेका छन् । जहाँ मेसी १४ गोल गर्दै जारी सिजन सर्वाधिक गोलकर्ताको सुचिमा अग्रस्थानमा छन् ।
अप्रिलमा बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियालमाथि अन्तिम मिनेटमा मेसीको गोलमा ३–२ को रोमाञ्चक जित हात पारेकोे थियो । मेसीका लागि अल्बाले गोलको अवसर जुराइदिएका थिए ।
‘बिबिसी’को पुनरागमन  
रियालका स्ट्राइकर करिम बेन्जेमा, गारेथ बेल र क्रिस्टियानो रोनाल्डोको अग्रपंत्ति साझेदारीलाई फुटबल जगतमा ‘बिबिसी’ को उपनामले चिनिन्छ । तर बेलको चोटका कारण जारी सिजन यी तीन जनाले एकै पटक अग्रपंत्तिमा खेलेका छैनन् ।
यद्धपी गत बुधबार सम्पन्न क्लब विश्वकपको सेमिफाइनलमा मैदान फर्केका बेलले टोलीको जितमा निर्णायक गोल गर्दै आफू पूर्णरुपमा फिट भएको संकेत गरेका थिए । त्यसैले शनिबार प्रशिक्षक जिनेदिन जिदानसामु बार्सिलोनाविरुद्ध यी तीन स्ट्राइकरलाई एकै साथ मैदान उतार्ने विकल्प खुला हुनेछ ।
उनीहरुसँगै मार्को एसेन्सियो पनि जिदानको रोजाईमा पर्न सक्छन । एसेन्सियोले बार्सिलोनाविरुद्धको पछिल्ला तीन वटै खेलमा गोल गरेका छन् ।
रोनाल्डो र स्वारेजको लय
रोनाल्डो र बार्सिलोनाका लुइस स्वारेजका लागि जारी सिजनको सुरुआत त्यती सुखद बन्न सकिरहेको थिएन । तर हाल दुवै खेलाडीले लयमा फर्किएको प्रमाण दिइसकेका छन् । स्वारेजले ला लिगमा ९ गोल गर्दै एक गोलका लागि अवसर सिर्जना गरेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा ६ गोल गरेका छन् । 

यता रोनाल्डोले ४ गोल गर्दै २ गोलका लागि अवसर सिर्जना गरेका छन् । सबै खाले प्रतियोगितामा गरी रोनाल्डोले पछिल्ला ७ खेलमा ८ गोल गरेका छन् । रोनाल्डोले गत साता सम्पन्न क्लब विश्वकप फाइनलमा टोलीको लागि निर्णायक गोल समेत गरेका थिए ।  
बार्सिलोनाको रक्षापंत्ति वास्तविक परिक्षण 
यसै सिजनबाट प्रशिक्षकका रुपमा नेतृत्व लिएका अर्नेस्टो भाल्भार्डेको प्रशिक्षणमा बार्सिलोनाले सबै खाले प्रतियोगिता गरि खेलेका २४ मध्ये १७ खेलमा गोल खाएको छैन ।
तर बर्नाबेउमा बार्सिलोनाको रक्षापंत्तिको वास्तविक परिक्षण हुनेछ । सामुइल उम्टीटीको स्थानमा थोमस भार्मालेनले मुख्य रक्षकको जिम्मेवारी सम्हाल्ने छन् । बार्सिलोनाले रियालसँगका पछिल्ला २४ भेटमा एक पटक मात्र पोस्ट सुरक्षित गर्न सकेको थियो । 

 

प्रकाशित: ८ पुस २०७४ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App