१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अर्जेन्टिनालाई अन्तिम अवसर

मोन्टेभिडियो- अर्जेन्टिना बिहीबार घरेलु मैदानमा हुने खेलमा लयमा भएको पेरूको चुनौती पन्छाउँदै रूस विश्वकप २०१८ को छनोट सम्भावना जीवित राख्ने लक्ष्यमा हुनेछ । सन् २०१४ को विश्वकपको उपविजेता अर्जेन्टिनाका लागि यस पटकको दक्षिण अमेरिकी छनोट चरण सुखद बन्न सकिरहेको छैन । १६ खेलको समाप्तिमा ६ जित, ६ बराबरी र ४ हारपछि २४ अंक जोडेको अर्जेन्टिना पाँचौं स्थानमा छ । यता पछिल्लो समय लयमा देखिएको पेरू समान १६ खेलमा ७ जित, ३ बराबरी र ६ हारपछि समान २४ अंक जोडे पनि राम्रो गोलअन्तरमा चौथो स्थानमा छ । २३ अंक जोडेको चिली छैटौं स्थानमा छ ।
यस क्षेत्रमा शीर्ष चार स्थानका टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं स्थानको टोलीले ओसियाना क्षेत्रको टोलीसँग प्लेअफको अवसर पाउनेछ । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड यसअघि नै प्लेअफमा छनोट भइसकेको छ ।
तर पछिल्लो दुई खेलमा उरुग्वे र भेनेजुएलासँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाको शीर्ष चारमा रहँदै स्वतः विश्वकपमा छनोट हुने सम्भावना थप कमजोर बनेको थियो । स्टार स्ट्राइकर लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले १६ खेलमा १६ गोल मात्र गर्न सकेको छ । तर अर्जेन्टिनालाई पेरुविरुद्धको खेलमा हात पारेको जितले पनि शीर्ष चारमा रहँदै स्वतः विश्वकपमा छनोट पक्का गर्दैन । त्यसका लागि अर्जेन्टिनाले अर्को साता इक्वेडरविरुद्ध हुने खेलमा पनि स्पष्ट तीन अंक जोड्नुपर्छ । तर दुवै खेलमा नजिता आफ्नो पक्षमा पार्न असफल भएमा अर्जेन्टिनाको पाँचोैं स्थानमा रहँदै प्लेअफ खेल्ने सम्भावनासमेत समाप्त हुनेछ ।
पेरूले पछिल्ला तीन खेलमा उरुग्वे, बोलिभिया र इक्वेडरलाई पराजित गर्दै विश्वकप छनोट सम्भावना बलियो बनाएको थियो ।
‘हामी पेरूको चुनौती समाना गर्न तयार छांै र हामी सबै टोलीलाई पराजित गर्न सक्षम टोली हांै,’ पेरूका प्रशिक्षक रिकार्डो गारेसाले भने ।
बिहीबार हुने अर्को खेलमा दोस्रो स्थानको उरुग्वे भेनेजुएलालाई पराजित गर्दैै रूस विश्वकपको टिकट पक्का गर्ने लक्ष्यमा हुनेछ । त्यस्तै तेस्रो स्थानको कोलम्बिया पनि पाराग्वेलाई पराजित गर्दै विश्वकप छनोट सम्भावना थप बलियो पार्ने लक्ष्यमा हुँदा छैटौं स्थानको चिली इक्वेडरलाई पराजित गर्दै छनोट सम्भावना जीवित राख्न चाहन्छ ।
यसअघि नै विश्वकपमा छनोट भैसकेको शीर्ष स्थानको ब्राजिलले बोलिभियाको सामना गर्दै छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App