१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्डरसनको ५ सय विकेट

लन्डन- तीव्र गतिका जेम्स एन्डरसन ५ सय टेस्ट विकेट पूरा गर्ने इङल्यान्डका पहिलो बलर बनेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्ने उनी विश्वका छैटौं र तेस्रो तीव्र गतिका बलर हुन् ।

शुक्रबार वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङमा ओपनर क्रायग ब्रेथह्वाइटलाई पवेलियनको बाटो देखाउँदै एन्डरसनले ५ सय विकेटको कोसेढुंगा पूरा गरेका हुन् । उनले ४ रन जोडेका ब्रेथह्वाइटलाई बोल्ड गरेका थिए ।

सन् २००३ मा जिम्बाब्वेविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका एन्डरसनले डेब्यु खेलमै ५ विकेट लिएका थिए ।

‘यो अविस्मरणिय उपलब्धि हो । मैले खेलेको खेल संख्या भन्दा विकेट संख्या धेरै छ ,’ एन्डरसनले भने, ‘विश्वका सबै क्रिकेटर लर्ड्स मैदानमा खेल्न चाहन्छन् र यस्तो मैदानमा यो उपलब्धि हासिल गर्नु मेरा लागि विशेष छ । म टेस्ट क्रिकेटमा लिएको पहिलो विकेट र ५ सयौं विकेट कहिले बिर्सने छैन ।’

५ सय टेस्ट विकेट लिँदै खेलजीवनमा सक्रिय एन्डरसन अहिले एक मात्र बलर हुन् । यसअघि ५ सय विकेट पूरा गरेका श्रीलंकाका स्पिनर मुथैया मुरलिधरन(८००), अस्ट्रेलियाका शेन वार्न (७०८), भारतका अनिल कुम्बले(६१९,अस्ट्रेलियाका सिमर ग्लेन म्याकग्रा (५६३) र वेस्ट इन्डिजका कर्टनी वाल्स(५१९) ले संन्यास लिइसकेका छन् ।

५ सय विकेट पूरा गर्ने वाल्स पहिलो खेलाडी हुन् । उनले सन् २००१ मा १ सय २९ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

तीन टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । पहिलो टेस्ट इङल्यान्डले  र दोस्रो टेस्ट वेस्ट इन्डिजले जितेका थिए ।

प्रकाशित: २५ भाद्र २०७४ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App