काठमाडौं- नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र रोशन दोङले समान एक गोल गरे।
नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले ठूलो अन्तरको जित हात पार्ने टोलीको रणनीतिले गर्दा खेलाडीहरू दबाबमा परेको बताए।
‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकाले खेलाडीहरू केही उत्साही भए,’ श्रेष्ठले भने, ‘माल्दिभ्सलाई ठूलो अन्तरमा पराजित गर्ने र भारतसँग बराबरी गर्दै समूह विजेताका रूपमा सेमिफाइलनमा प्रवेश गर्ने टोलीको रणनीति थियो। त्यसैले ठूलो अन्तरको जितका लागि हामीले सुरुबाटै आक्रामक खेल्यौं। धेरैभन्दा धेेरै गोल गर्ने रणनीतिका कारण खेलाडी दबाबमा थिए।’ समूहचरणमा भारतले माल्दिभ्सलाई नौ गोलले पराजित गरेपछि नेपाल पनि फराकिले जित हात पार्ने लक्ष्यमा थियो।
श्रेष्ठले माल्दिभ्सभन्दा भारत बलियो टोली भएको र उनीहरुविरुद्धको खेलपछि मात्र नेपालको स्तर थाहा हुने बताए।
‘आज हामीले रक्षापंक्तिमा खासै ध्यान दिएनांै। भारतविरुद्ध हामी रक्षापंक्तिमा विशेष ध्यान दिनेछांै,’ उनले भने।
पहिलो पटक भैरहेको यु–१५ साफ च्याम्पियनसिपको समूह 'बी' को विजेता नेपाल र भारतबीचको खेलको नतिजाले घोषणा गर्नेछ। नेपाल र भारतले बुधबार खेल्नेछन्।
सोमबार भएको खेलमा सुरुदेखि खेलमा हाबी भएको नेपालले १४औं मिनेटमा अग्रता लिएको थियो । दर्शनको पासमा ब्रिजेशले हेडमा गोल गरेका थिए।
२१आंै मिनेटमा राजन पुनको पासमा गोल गर्दै दर्शनले नेपालको अग्रता दोब्बर पारे । ३७औं मिनटमा रोशन रानामगरले पेनाल्टीमा गोल गर्दै नेपालको अग्रता बढाएका थिए। दर्शनले प्रहार गरेको बल माल्दिभ्सका रक्षक मोहमद फौहान इमरानको हातमा लागेपछि नेपालले पेनाल्टी पाएको थियो।
पहिलो हाफको अन्तिमम मिनेटमा आकाश बुढामगरलेे गोल गर्दै नेपाललाई ४–० को स्थितिमा पुर्याएका थिए। अकाशले रन्दिप पौडेलको प्रहार माल्दिभ्सका गोलकिपर मोहम्मद रैफ अब्दुल्ल्ााले रोक्दा रिबाउन्डमा प्राप्त बललाई पोस्टको दिशा दिएका थिए।
नेपालले दोस्रो हाफमा खेल नियन्त्रणमा लिँदै गोल थप्ने प्रयास गरिरहेको थियो। ४७औं मिनेटमा रोशन दोङले गोल गरे। दोङले कर्नरमा आएको बल माल्दिभ्सको रक्षापंक्तिले क्लियर गर्न नसक्दा गोल गरेका थिए। एकपछि अर्को गोल थपेपछि नेपाली खेलाडीले माल्दिभ्सलाई दबाबमा राख्दै खेलेका थिए।
७३औं मिनेटमा ब्रिजेशले पेनाल्टी बक्सबाहिरबाटै आकर्षक गोल गरे। ८८औं मिनेटमा नेपालका रोशन दोङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
माल्दिभ्सका स्माइल मिमरा मुइनलाई लडाएपछि उनले दोस्रो पहेँलो कार्डको दर्शन गरेका थिए।
१० खेलाडीमा सीमित भए पनि नेपालले माल्दिभ्सबाट कुनै खतराको सामना गर्नु परेन।
भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो। समूहका दुवै खेल गुमाएको माल्दिभ्स समूहचरणबाटै बाहिरिएको छ।
यता माल्दिभ्सका प्रशिक्षक मोहमद साज्लेले आफूहरू कठिन समूहमा परेकाले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताए।
‘हामी कठिन समूहमा पर्यांै। त्यसैले सोचेअनुरूपको प्रदर्शन गर्न सकेनांेै,' साज्लेले भने, ‘नेपाल र माल्दिभ्सको स्तर समान भए पनि उनीहरू प्राविधिक रूपमा हामीभन्दा माथि छन्। आजको नतिजाबाट सन्तुष्ट नभए पनि म टोलीको प्रदर्शनमा सन्तुष्ट छु।’
साल्जेले भारतले बढी उमेरको खेलाडी खेलाएको समेत आरोप लगाए।
‘भारतले प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको छ,’ उनले भने, ‘उनीहरू प्रतियोगितामा सहभागी अन्य टोलीको तुलनामा शारीरिक रूपमा धेरै माथि छन्।’
यसअघि २२औं मिनेटमा रोशनको पासमा ब्रिजेशले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता बढाउने मौका खेर फालेको थियो। ६५औं मिनेटमा आकाश बुढामगरकोको प्रहार पोस्टमा लागेर फर्किंदा नेपालले अग्रता बढाउने मौका गुमाएको थियो।
माल्दिभ्सले खेलको चौथो मिनेटमै गोल गनर्ेे सुनौलो मौका पाएको थियो। तर इब्राहिम आनुफको पासमा कप्तान इब्राहिम इमरानले गरेको हेड पोस्टमाथिबाट बाहिरिएको थियो। त्यस्तै २८औं मिनेटमा अहमेद नाहिल इब्राहिमको फ्रि–किक बाहिरिँदा माल्दिभ्सले गोलअन्तर कम गर्ने मौका खेर फालेको थियो। ५५औं मिनेटमा माल्दिभ्सले गोलको सुनौलो अवसर पाएको थियो। तर इब्राहिमले गोलकिपर विशाल सुनार बिट भइसक्दा पनि गोल गर्न सकेनन्। उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।
मंगलबार समूह ‘ए’ को अन्तिम खेलमा भुटान र बंगादेश आमनेसामने हँुदै छन्। श्रीलंकालाई पराजित गर्दै दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यी दुई टोलीबिचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।
प्रकाशित: ६ भाद्र २०७४ ०४:११ मंगलबार