१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

सेन्ट पिटर्सबर्ग- क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय गोलसंख्या ७५ पुर्‍याएको दिन पोर्चुगलले शनिबार  न्युजिल्यान्डलाई ४–० को नतिजामा पराजित गर्दै अन्तरमहादेशीय कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

३३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो। यस गोलसँगै उनले युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा रहेका हंगेरीका सान्ड्रो कोसिससँग बराबरी गरेका छन्। ८४ गोल गरेका हंगेरीका फेरेन्स पुस्कासको नाममा युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ।

३८औं मिनेटमा बनार्डो सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए। ८०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए। खेलको अन्तिम मिनेटमा नानीले गोल गरेपछि सहज जितका साथ पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो।

समूह ‘ए’ को अन्तिम खेलमा हात पारेको यस जितसँगै ७ अंक जोडेको पोर्चुगल समूह विजेताका रूपमा अन्तिम ४ मा प्रवेश गरेको हो। यता शनिबारै सम्पन्न अर्को खेलमा आयोजक रूसलाई २–१ ले पराजित गरेको मेक्सिकोले समान अंक जोडे पनि गोलअन्तरका आधारमा पछि रहँदै उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। ३ अंक जोडेको रूस प्रतियोगिताबाट बाहिरिएको छ। अंक खाता खोल्न नसकेको न्युजिल्यान्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

‘सेमिफाइन प्रवेश गर्न पाउँदा म धेरै खुसी छु। यस जितले हाम्रो मनोबल बढाएको छ र हामी प्रतियोगिताको उपाधि जित्न चाहन्छांै,’ रूसमा जारी प्रतियोगिताको लगातार तेस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएपछि रोनाल्डोले भने।

३२ वर्षे रोनाल्डोलाई स्पेनमा कर छलीको आरोपमा मड्रिडको एक अदालतले अर्को महिना अदालतमा हाजिर हुन आदेश दिइसकेको छ। साथै उनले रियाल मड्रिड छाड्ने धम्की दिएको खबर पनि सार्वजनिक भइरहेका छन्। मैदानबाहिर भविष्यका बारेमा अनेकांै अड्कलबाजी भैरहँदा रोनाल्डोले ती सबै हल्लालाई पन्छाउँदै आफू लयमा रहेको प्रस्ट पारिसकेका छन्। उनले समूहचरणको पछिल्ला ३ खेलमा २ गोल गरिसकेका छन्।

‘अन्य खेलभन्दा यसमा हामीले सबै पक्षमा राम्रो प्रदर्शन गर्‍यौं। अब हाम्रो ध्यान उपाधि जित्नमा केन्द्रित छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने।

यता मेक्सिकोले उत्कृष्ट पुनरागमनमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको रूसमाथि २–१ को जितका साथ सेमिफाइनल प्रवेश गर्‍यो।

२५औं मिनेटमा एलेक्जेन्डर सामेडोभको गोलमा रूसले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेटपछि नेस्टोर आरौजोको गोलमा मेक्सिको खेलमा फर्किएको थियो।

५२औं मिनेटमा हार्भिङ लाजोनाले गरेको गोलमा मेक्सिकोले अग्रता लिएको थियो।

६८औं मिनेटमा योरी जिर्काेभ दोस्रो पहंेलो कार्ड दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि रूसले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। वैकल्पिक खेलाडी इगोर स्मोलिनकोभको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा रूस निराश बनेको थियो।

‘हामी अत्यन्तै बलियो आयोजक राष्ट्रविरुद्ध खेलिरहेका थियौं। उनीहरू जित्नै पर्ने दबाबमा थिए। त्यसैले उनीहरूविरुद्धको खेल कठिन हुनेमा हामी जानकार थियौं,’ मेक्सिकोका प्रशिक्षक हुवाँ कार्लोस ओरोसियोले भने, ‘यो मेक्सिकन फुटबलका लागि ठूलो जित हो। हामी जितका लागि सक्षम टोली थियौँ। आजको प्रदर्शन र नजिताबाट हामी सन्तुष्ट छौँ।’

सेमिफाइलनमा पोर्चुगलले समूह ‘बी’ को उपविजेता र मेक्सिकोले विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १२ असार २०७४ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App