१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चौराहको अप्रत्याशित फाइनलयात्रा

सुजन श्रेष्ठ/दिलबहादुर छत्याल

धनगढी- भाग्यले डोर्‍याएको धनगढी टिम चौराहले बिहीबार रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। समूहचरणअन्तर्गत सुरुका तीन खेलमा पराजित भएपछि लगभग प्रतियोगिताबाट बाहिरिएको टिम चौराहले अप्रत्याशित रूपमा फाइनल यात्रा तय गरेको छ। कप्तान पारस खड्काको अविजित ६७ रनप्रेरित धनगढी टिम चौराहाले बिहीबार रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै प्रतियोगिताको फाइलनमा स्थान बनाएको हो।

‘भाग्यले साथ दिएको छ। यो स्तरमा पुगेपछि जित्नका लागि भाग्य पनि चाहिन्छ। तर खेलाडीले राम्रो नखेलिदिएको भए पक्कै जित्ने थिएनौं। चाहिएको बेला सबैले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेका छन्,' टिम चौराहका कप्तान पारसले भने, ‘लय समाएका  छौं आशा गरौं यसले फाइनलमा पनि निरन्तरता पाउनेछ।'

लगातार पहिलो तीन खेल गुमाएपछि टिम चौराहलाई समूहचरणको खेल जित्नै पर्ने थियो, त्यसमा पनि राम्रो रनरेटका आधरमा। रूपन्देहीले टस जितेर ब्याटिङ गर्दै दिएको ९२ रनको लक्ष्य चौराहले १४.३ ओभरमा जिते मात्र प्लेअफ स्थान बनाउँथ्यो। तर पारस खड्काले २१ बलमा ७ चौका र २ छक्कासहित ४२ रन बनाएपछि चौराहले ९२ रनको लक्ष्य ११ ओभरमै ४ विकेट गुमाएर पूरा गरेपछि प्लेअफमा स्थान बनाउन सफल भएको थियो।

यता प्रतियोगितामा दमदार सुरुआत गर्दै सुरुका तीन खेल जिते पनि रूपन्देहीले लगातार तीनै खेलमा पराजय भोगेपछि बिहीबार निराश बनेको छ। बलिङमा राम्रो मानिएको रूपन्देहीका बलरले बिहीबार कुनै पनि समय टिम चौराहका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन्। रूपन्देहीविरुद्ध चौराहले प्रतियोगितामै अहिलेसम्मको ठूलो योगफल खडा गर्‍यो।

सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको टिम चौराहले निर्धारित २० ओभरमा २ विकेट  गुमाएर १ सय ७२ रन बनाएको थियो। जुन चौराहले अहिलेसम्म बनाएको ठूलो योगफल हो भने समग्रमा दोस्रो ठूलो स्कोर । चौराहले यसअघि समूहचरणमा काठमाडौं गोल्डेन्सविरुद्ध १ सय ३६ रन बनाएको थियो। प्रतियोगितामा अहिलेसम्म सबैभन्दा ठूलो योगफल भने काठमाडौं गोल्डेन्सको नाममा छ। काठमाडौंले विराटनगर किंग्सविरुद्ध १ सय ७३ रन बनाएको थियो।

पारसले ४१ बलमा ६ चौका र ४ छक्कासहित ६७ रन बनाए भने सौरभ खनालसँग छैटौं विकेटका लागि १९ बलमा ४३ रनको अविजित साझेदारी गरेका थिए। म्यान अफ दी म्याचसमेत रहेका पारसले त्यसअघि पृथु बास्कोटासँग तेस्रो विकेटका लागि १९ तथा चौथो विकेटका लागि आरिफ शेखसँग २४ रनको साझेदारी गरेका थिए। त्यस्तै अमरसिंह राउटेलासँग पाँचौं विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। सौरभ ८ बलमा २ चौका २ छक्कासहित २४ रनमा अविजित रहे। अमरसिंहले १६ रन जोड्दा पृथुले ४ रन बनाए।

त्यसअघि राजु रिजालले २५ तथा अनिल मण्डलले १३ रन बनाए। अनिल धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले १ सय ४९ रन बनाएका छन्। पेटको शल्यक्रियापछि मैदानमा फर्किएपछि आधिकारिक प्रतियोगितामा पहिलो अर्धशतक पूरा गरेका पारस दोस्रो स्थानमा छन्। पारसले १ सय ४६ रन बनाइसकेका छन्। विराटनगरका कप्तान शरद भेषावकर तेस्रो स्थानमा छन्।

रूपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए भने शाहब आलम र विक्रम भुसालको नाममा १/१ विकेट रह्यो। यससँगै शाहब आलम प्रतियोगितामा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा पुगेका छन्। आलमले ७ खेलमा १६ विकेट लिइसकेका छन्। दोस्रो स्थानमा रहेका सुशील कँडेलले ६ खेलमा १५ विकेट लिएका छन्।

१ सय ७३ रनको लक्ष्य पछ्याएको रूपन्देहीले १५.२ ओभरमा ८० रन बनाउँदा सबै विकेट गुमायो। रूपन्देहीका लागि सबैभन्दा बढी राजेश पुलामीमगर र कृष्ण कार्कीले समान १४ रन बनाए। प्रताप थापाले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टिम चौराहका ललित राजवंशी र सौरभ खनालले समान ३/३ विकेट लिए। आरिफ शेलले २ विकेट लिँदा सुसन भारीको नाममा १ विकेट रह्यो।

टिम चौराहले समूह चरणमा पनि रूपन्देहीलाई ६ विकेटले पराजित गरेर प्लेअफमा स्थान बनाएको थियो। त्यसपछि सुरु भएको रूपन्देहीको हारको शृंखलाले बिहीबार पनि निरन्तरता पायो। चौराहले उपाधिका लागि शनिबार शरद भेषावकरको विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। समूहचरणमा दोस्रो हुँदै प्लेअफमा स्थान बनाएको विराटनगरले रूपन्देहीलाई २९ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको हो।

प्रकाशित: ८ वैशाख २०७४ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App