केप टाउन(रोयटर्स)– दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे’भिलियर्सले आगामी मार्चमा न्युजिल्यान्डविरुद्ध हुने ३ टेस्टको शृंखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। तर उनले आफूले तत्काल टेस्ट क्रिक्रेटबाट संन्यास भने नलिने बताएका छन्।
कुइनाको चोटका कारण डेभिलियर्स हालै घरेलु मैदानमा सम्पन्न न्युजिल्यान्ड र श्रीलंकाविरुद्ध २ टेस्टको शृंखला तथा नोभेम्बरमा अस्ट्रेलियामा सम्पन्न टेस्ट शृंखलामा मैदानमा रहँदै आएका थिए । तीन वटै शृंखला दक्षिण अफ्रिकाले आफ्नो पक्षमा पारेको थियो ।
फाफ डु प्लेसीसलाई कप्तानी सुम्पे पनि उनले सन् २०१९ मा इङल्यान्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिक्रेट आफ्नो प्राथमिकतामा पर्ने बताउँदै आएका छन् ।
‘म न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलाका लागि उपलब्ध हुने छैन,’ डे’भिलियर्सले भने, ‘म अझै त्यहाँ पुगेको छैन । मलाई सोच्न केही समय चाहिएको छ । मेरो लक्ष्य सन् २०१९ को विश्वकप क्रिक्रेट उपाधि उचाल्नु हो ।’
उनले टेस्ट क्रिक्रेटमा पुनरागमन गर्ने बताए । दक्षिण अफ्रिकाले आगामी जुलाई र अगस्टमा हुने इङल्यान्ड भ्रमण र गर्मी याममा भारत र अस्ट्रेलियाविरुद्ध टेस्ट शृंखला खेल्दै छ ।
‘म अहिले क्रिकेटका कुनै पनि स्वरुपबाट संन्यास लिन लागेको होइन, यो पक्का हो । म त्यसका लागि तयार छैन,’ उनले भने, ‘मेरो प्रमुख लक्ष्य सन् २०१९ को विश्वकप क्रिक्रेट उपाधि जित्नु हो र त्यसका लागि म मरिमेट्न तयार छु ।’
दक्षिण अफ्रिकाबाट ५०.४६ को औसतमा १ सय ६ टेस्ट खेलेका ३३ वर्षे डे’भिलियर्सले तीनवटै संरचनाका क्रिक्रेट खेल्न आफूले कडा मेहनत गर्नु आवश्यक रहेको बताए ।
‘अर्को संरचनाको खेल खेल्नु महत्वपूर्ण छ । तरसन् २०१९ को विश्वकपअघि शारीरिक तथा मानसिक रुपमा म राम्रो लयमा हुन आवश्यक छ र अहिले म त्यसबारे मात्र सोचिरहेको छु,’ उनले भने, ‘सहज नहुँदा नहुँदै पनि म केही निश्चित खेल छनोट गर्नेछु । म राष्ट्रिय टोलीबाट कुनै पनि खेल गुमाउन चाहन्न । अहिलेको खेल तालिका अनुसार सबै संरचनामा खेल्न धेरै कठिन छ ।’
डे’भिलियर्स जनवरी २५ मा केप टाउनमा हुने श्रीलंकाविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा फर्कने र जनवरी २८ मा सुरु हुने ५ एक दिवसीय शृंखलामा टोलीको कप्तानी गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित: ५ माघ २०७३ ०२:५६ बुधबार