१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

माघ तेस्रो साता राष्ट्रिय भलिबल

पोखरा- माघ तेस्रो साता राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ। पोखरालाई खेलकुदको सहरका रुपमा विकास र भलिबलका नयाँ खेलाडी उत्पादन गर्न सिर्जना आमन्त्रण महिला–पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगिता माघ १८ देखि २२ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल खेलाडी सहभागी हुने महिला तथा पुरुषका टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले बतायो।

आयोजकका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, न्यू डायमन्ड एकेडेमी र हेल्प नेपाल स्पोर्ट्स क्लबका टोली सहभागी हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले बताए।

विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित पदक, प्रमाणपत्र तथा ट्रफी पाउनेछन्। विभिन्न विधामा उत्कृष्ट हुने टोली र खेलाडी पुरस्कृत हुनेछन्। आयोजकले मैदानमा विशेष रबर म्याट बिछ्याएर खेलाइने जनायो।

प्रतियोगिता लिगकम नकआउट आधारमा खेलाइने पौडेलले बताए। …पश्चिमाञ्चलले भलिबलमा विशेष योगदान दिँदै आएको छ। महिला भलिबलमा पश्चिमाञ्चलको विशेष पहिचान पनि छ,' उनले भने, …त्यही पहिचान अझ विशिष्ट बनाउन प्रतियोगिताले सघाउनेछ। भविष्यका खेलाडी उत्पादन गर्न पनि यसले सघाउनेछ।'

प्रतियोगितामा सिर्जना विकास केन्द्रले विशेष सहयोग गरेको छ। समिति अध्यक्ष पौडेल र केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठबीच सहयोग सम्झौतामा आइतबार हस्ताक्षर भयो। अध्यक्ष श्रेष्ठले प्रतियोगिता आयोजना गर्न नगद ७ लाख रुपैयाँ दिने जनाए। …भलिबलमा हामीले पहिलेदेखि नै सघाउँदै आएका थियौं, प्राविधिक कारणले निरन्तरता दिन सकेका थिएनौं,' उनले भने, …अब निरन्तरता दिने प्रयास गर्नेछौं।' उनले अब ४ वर्ष निरन्तर सघाउने बताए। केन्द्रले दूर्गम क्षेत्रमा लघुवित्त सेवा दिँदै आएको छ।

पोखरा रंगशालाको भलिबल मैदानमा प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए। करिब ५ हजार दर्शक अट्ने काठको अस्थायी प्यारापिट निर्माण गरिने उनले बताए। सरकारले समयमै बजेट नदिँदा निर्माणाधीन कोर्ट पूरा गर्न नपाउँदा तत्काल कामचलाउ बनाउनु पर्नेे बाध्यता रहेको अध्यक्ष पौडेलले जनाए।

अध्यक्ष पौडेलका अनुसार अहिले रंगशालाभित्र भलिबल ट्रेनिङ सेन्टर निर्माणको तयारीस्वरुप भलिबल मैदान भत्काइएको छ। सरकारले बजेट उपलब्ध नगराउँदा सेन्टर निर्माणमा ढिलाइ भइरहेको छ। केहीदिन अघि मात्र अर्थ मन्त्रालयले सेन्टरका लागि एक करोड रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्लाई निकासा दिएको छ। बजेट केहीदिनमा समितिमा आउने भएकाले छिट्टै निर्माणले गति लिने उनले बताए।

प्रकाशित: २५ पुस २०७३ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App