१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मेसीप्रति क्लब अध्यक्षको विश्वास

बार्सिलोना- स्पेनिस महारथी बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमोउले बुधबार लियोनल मेसीले क्लबसँगको सम्झौता नवीकरणमा गर्ने मात्र नभई आफ्नो खेलजीवनै क्याटलन क्लबमा अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्।

जापानको अनलाइन बिक्रेता राकुटेनसँग वार्षिक ५ करोड ५० लाख युरोमा जर्सी प्रायोजनको सम्झौता कार्यक्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष बार्टोमोउले भने, ‘मेसीको सम्झौतालाई लिएर म ढुक्क छु।’ 

मेसीसँगको सम्झौता सकिन १८ महिना बाँकी छ। तर क्लब उनीसँगको सम्झौता लम्ब्याउन चाहिरहेको छ। बार्सिलोनाले नेइमारसँगको सम्झौता नवीकरण गरिसकेको छ भने लुइस स्वारेजसँग पनि सम्झौता नवीकरण गर्ने प्रयासमा छ।

‘हामी सबै विश्वस्त छौं कि मेसीले आफ्नो खेलजीवन यही क्लबबाट अन्त्य गर्नेछन्। क्लबसँग सरोकार राख्ने सबै यस विषयमा ढुक्क छन्,’ अध्यक्ष बार्टोमोउले भने, ‘उनी यस्तो खेलाडी हुन्, जसले पछिल्लो समय क्लबले पाएको ऐतिहासिक सफलतामा नेतृत्व गरेका छन्। उनले यसलाई निरन्तरता दिन्छन् र यहीबाट खेलजीवनको अन्त्य गर्नेछन्।’

स्पेनिस स्पोर्टस डेली मार्काले बार्सिलोनामा २९ वर्षे मेसीको भविष्यबारे शंका व्यक्त गरेको छ। मार्काले बुधबार मेसीले पूर्व प्रशिक्षक पेप ग्वार्डिओलालाई पछ्याउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटी जान सक्ने जनाएको छ।

ब्राजिलका सुपरस्टार नेइमारले अक्टोबरमा बार्सिलोनासँग थप ५ वर्षको सम्झौता गरेका थिए। नयाँ सम्झौताअनुसार २४ वर्षे नेइमार २०२१ सम्म क्याम्प नोउमा रहन्छन्। युरोपियन गोल्डेन बुट जितेका स्वारेजले गत साता २०२१ सम्म सम्झौताका लागि छलफल भइरहेको बताएका छन्।

बार्सिलोनाले जर्सी प्रायोजन गरेको अनलाइन बिक्रेता राकुटेन जापानकै ठुलो ई–कमर्स कम्पनी हो। राकुटेनले चारवर्षका लागि २२ करोड युरो प्रायोजन सम्झौता गरेको हो। हिरोसी मिकितानीले १९९७ मा स्थापना गरेको राकुटेन प्रारम्भिक दिनमा सपिङ मलको रूपमा थियो। यसको मुख्य आधार क्षेत्र टोकियो हो।

प्रकाशित: ३ मंसिर २०७३ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App