१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन

नोटिङ्घम- एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्।

घरेलु मैदान ट्रेन्ट ब्रिज हल्सले सर्वाधिक रन जोडेपछि पाकिस्तानलाई १ सय ६९ रनको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्डले पाँच एकदिवसीय शृंखलामा ३–० को अग्रता लिएको छ।

हल्सले आफ्नो स्कोर आउने दिनमा इङ्ल्यान्डका कुनै खेलाडीले तोड्न सक्ने अनुमान गरे। 'पछिल्लो केही वर्षयता हामीले जस्तो खेलिरहेका छौं। मलाई थाहा छैन, यो कीर्तिमान कति समयसम्म रहन्छ,' उनले भने, 'हाम्रो ब्याटिङ लाइनअप ११ औं नम्बर पनि उत्तिकै सशक्त थियो। यो हाम्रो टोलीको राम्रो पक्ष हो।' जोस बटलरले अविजित ९०  रन बनाए। उनी २२ बलमा अर्धशतक पूरा गर्ने इङ्ल्यान्डका पहिलो खेलाडीसमेत बनेका छन्।

हल्स र जोए रुट (८५) रनले २ सय ४८ रनको साझेदारी गरेका थिए। बटलर र कप्तान इयान मोर्गन (५७) ले तेस्रो विकेटमा १ सय ६१ रनको साझेदारी गरेका थिए। पाकिस्तानी बलर पूर्ण रूपमा असफल खेलमा इङ्लिस ब्याट्सम्यानले १६ छक्का प्रहार गरे। एकदिवसीयअघि इङ्ल्यान्ड र पाकिस्तानबीचको टेस्ट शृंखलामा भने हल्सको प्रदर्शन खराब थियो। २–२ को बराबरीमा सकिएको शृंखलामा १८.१२ को औसतमा उनले जम्मा १ सय ४५ रनमात्र बनाउन सकेका थिए।

पछिल्ला दुई एकदिवसीयमा पनि उनले ७ र १४ रन मात्र बनाउन सकेका थिए। तर, नोटिङ्घमको घरेलु मैदानमा समर्थकसाथमा उनले उच्च आत्मविश्वास देखाउँदै इङ्ल्यान्डको व्यक्तिगत सर्वाधिक रनमा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन्। सन् १९९३ मा अस्ट्रेलियाविरुद्ध रोबिन स्थिमले बनाएको १ सय ६७ रन इङ्ल्यान्डका खेलाडीको उच्च स्कोर थियो।

'व्यक्तिगत रूपमा पछिल्लो केही साता मेरो लागि कठिन रह्यो,' हल्सले भने 'टेस्ट शृंखला पनि योजनाअनुसार हुन सकेन। तर पछिल्लो १२ महिना सेतो बलमा मैले राम्रो खेलिरहेको छु। यो शृंखलामा म सधैँ आत्मविश्वास साथ उत्रिएको छु। आजको प्रदर्शनले खुसी भएको छु।'

हल्सको ओपनिङ साझेदारीका रूपमा जेसन रोय थिए। श्रीलंकाविरुद्ध जुनमा भएको एकदिवसीयमा स्थिमको कीर्तिमानको नजिक रहे पनि पाकिस्तानविरुद्ध भने उनी १५ रनमै आउट भएका थिए। श्रीलंकाविरुद्ध उनले १ सय ६२ रन बनाएका थिए।

'म कीर्तिमान नजिक थिएँ भन्ने थियो,' कीर्तिमान तोडेका विषयमा उनले भने हल्सले भने, 'जब समर्थकहरू उत्साही भए त्यहाँ केही भयो भन्ने मैले थाहा पाएँ। तर म त्यति बेला निश्चित चाहिँ थिइनँ।'

गतवर्ष सम्पन्न विश्वकपको पहिलो चरणबाट बाहिरिएको इङ्ल्यान्डले त्यसयता प्रदर्शनमा सुधार गर्दै आएको छ। २०१९ को विश्वकप आयोजक इङ्ल्यान्डले त्यसमा अझै राम्रो प्रदर्शन गर्नेमा हल्स आशावादी छन्।

'यो उत्साहजनक प्रदर्शन हो। तर हामीले क्षमताअनुसार प्रदर्शन अझै गर्न सकेका छैनौं,' हल्सले भने, 'ब्याटिङ र बलिङमा हामीले अझै सुधार गर्नुपर्नेछ। आशा छ आउने दुई वर्षमा अझै राम्रो हुनेछ।'

हल्सको तारिफमा कप्तान मोर्गनले भने, 'कुनै पनि प्रणालीमा १ सय ७१ रन बनाउनु अझ त्यो पनि एकदिवसीयमा बनाउनु भनेको अर्थपूर्ण हो। अन्तर्राष्ट्रिय क्रिकेटमा कुन मनस्थितिमा जाने र कसरी दबाब कम गराउने भन्ने हल्सले प्रदर्शन गरेका छन्। '

पाकिस्तानकी कप्तान अजहर अलीले हल्स र बटलरको प्रदर्शनको प्रशंसा गर्दै आफ्नो टोलीको फिल्डिङ कमजोर रहेको स्विकारे। 'हल्स र बटलरको प्रदर्शन असाधारण थियो,' उनले भने, 'मलाई लाग्छ ४ सय ४४ रन भनेको अलि बढी नै हो। हामीले केही महत्वपूर्ण अवसर चुकायो। हल्स ७० रनमा वाहब रियाजको नो–बल हाम्रा लागि खराब रह्यो। हामीले राम्रो सुरुआत गर्न सकेनौं तर त्यसमा माफी हुन्न। यो कमजोर फिल्डिङले राम्रो सन्देश पक्कै जाने छैन।

१ सय २२ बल खेलेका हल्सले २२ चौका र ४ छक्का प्रहार गरे। रुटले ८६ बलमा ८ चौका प्रहार गरे। बटलरले ५१ बलमा ७ छक्का र त्यति नै चौका हानेका थिए। मोर्गनले २७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। पाकिस्तानी हसन अलीले २ र मोहम्मद नवाजले १ विकेट लिए।

पाकिस्तानबाट सबैभन्दा बढी सार्जिल खानले ५८ रन बनाए। इङ्ल्यान्डका क्रिस वाक्सले ४, अदिल रसिदले २ तथा मार्क उड, लिएम प्लुङ्केट, बेन स्ट्रोक्स र मोइन अलीले समान १ विकेट लिए। चौथो एकदिवसीय बिहीबार हुनेछ।

प्रकाशित: १६ भाद्र २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App