१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई बक्सिङमा ऐतिहासिक सफलता

युवा बक्सर सुष्मा तामाङ एएसबिसी एसियन यु–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुग्दै नेपालको बक्सिङमा ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।

थाइल्यान्डको बैंककमा जारी च्याम्पियनसिपअन्तर्गत महिला ४८ केजी तौलसमूहमा आइतबार फाइनलमा प्रवेश गर्दै सुष्माले नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी हुन्। यस क्रममा सुष्माले आइतबार सेमिफाइनलमा मंगोलियाकी बक्सर बेइस्यनबेई जनारगुलीलाई रेफ्री स्टप कन्टेस्ट (आरएसी) का आधारमा हराइन्। सुष्माले अब मंगलबार उज्बेकिस्तानकी बक्सर फोजिलोभा फरजोनाविरुद्ध स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्नेछिन्। फोजिलोभाले भने सेमिफाइनलमा आयोजक राष्ट्रकी बक्सर योदवारी थिप्सात्चालाई ५–० को अंकका आधारमा हराएकी थिइन्।

फाइनलमा पुगेकी सुष्माले कम्तीमा पनि रजत पदक सुरक्षित गरेकी छन्। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले उनले फाइनल पनि जित्दै ऐतिहासिक स्वर्ण पदक प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। ‘आज सुष्माले निकै राम्रो खेलिन्। प्रतिद्वन्द्वी पनि राम्रो बक्सर हुन्। तर, सुष्माले उनलाई उल्टै दबाबमा राखेर खेल एकपक्षीय बनाइन्,’ प्रशिक्षक महर्जनले भने, ‘उनी राम्रो लयमा छिन् र उनले फाइनलमा पनि जित्ने मेरो विश्वास छ।’ सुष्माले पनि आफ्नो यात्रा रजत पदकमा नै सीमित नहुने बताएकी छन्।  

‘मैले यो सफलताका लागि धेरै समयदेखि तयारी गरेको थिएँ। आज रजत पदक पनि जित्न सफल भएँ,’ सुष्माले भनिन्, ‘मेरो यात्रा यहाँसम्म मात्र सीमित हुँदैन। मेरो देश, गुरु र परिवारका लागि अझै ठूलो सफलता जित्ने लक्ष्य छ।’ सुष्माले घरेलु प्रतिस्पर्धा नक्साल बक्सिङ क्लबबाट खेल्दै आएकी छन्। नक्सालमा उनलाई नवीन तण्डुकारले प्रशिक्षण गराउँछन्। सुष्माको सफलता नेपालको बक्सिङ इतिहासका लागि सबैभन्दा ठूलो पदक हो। यसअघि एसियाली प्रतिस्पर्धामा नेपालको सबैभन्दा ठूलो सफलता कांस्य पदक हो।

सन् १९७९ भारतको मुम्बईमा सम्पन्न एसियन बक्सिङ च्याम्पियनसिपमा उमेश मास्केले कांस्य पदक जितेका थिए। त्यो नै नेपाली बक्सिङको एसियालीस्तरमा पहिलो पदक हो। बहुखेल समावेश हुने एसियाडमा भने नेपालका बक्सरले ६ वटा कांस्य पदक दिलाएका छन्। हाल थाइल्यान्डमा रहेका नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले पनि चीनमा भएको एसियाडमा कांस्य पदक जितेका थिए। सन् २०२१ मा पोल्यान्डमा सम्पन्न विश्व युथ वुमन बक्सिङ च्याम्पियनसिपमा पनि सुष्माले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्।  

उनै सुष्माले बैंककमा भने इतिहास कायम राख्दै कम्तीमा रजक पदक सुरक्षित गरेकी छन्। अब एक चुनौती पन्छाए उनको सफलताले अर्को खुड्किलो प्राप्त गर्नेछ। आइतबार नै बैंककमा नेपालकी बक्सर हेमा राईको चुनौती भने कांस्य पदकमा नै सीमित हुन पुग्यो। महिला ५७ केजी तौलसमूहको सेमिफाइनलमा उनी मंगोलियाकी बत्तुर जोल्जारगलसँग ५–० ले स्तब्ध हुन पुगिन्। यस च्याम्पियनसिपमा महिला र पुरुषमा समान ३/३ गरी कुल ६ बक्सरले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दै छन्।  

शुक्रबार नेपालका दुई बक्सर लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारको चुनौती क्वार्टरफाइनलमा नै सीमित भएको थियो। अब नेपालको तर्पmबाट सेमिफाइनलमा त्रिशा जबेगु र विजय बाटाले चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए। विजयले पुरुष ८६ केजी तौलसमूहमा र त्रिशाले महिला ८१ केजी तौलसमूहमा यसअघि बाई पाएर सेमिफाइनलमा स्थान बनाएका थिए। 

प्रकाशित: ९ माघ २०७९ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App