१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

लयमा फर्किँदै नेपाल

काठमाडौं- पारस खड्काको कप्तानी इनिङ मद्धतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअर्न्तगत सोमबार आमस्टेलभिनको भिआरए मैदानमा नेदरल्यान्ड्समाथि १९ रनको जित निकालेको छ।

पहिलो खेलमा गोल्डेन डकआउट भएका पारसले सोमबार त्यही मैदानमा ८४ रन बनाए। उनलाई ब्याटिङमा सागर पुनले साथ दिएका थिए। पारस र सागरले चौथो विकेटमा १ सय १८ रनको साझेदारी गरेका थिए। ९७ बल खेलेका कप्तान पारसले ७ चौका र १ छक्का प्रहार गरे।

टस हारेर ब्याटिङ निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

२ सय १८ रनको विजय लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्यान्ड्स ४८.३ ओभरमा१ सय ९८ रनमा समेटियो।

ओपनरद्वय ज्ञानेन्द्र मल्ल र अनिल मण्डल तथा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर आउट भइसकेको अवस्थामा सागरले पारससँग महत्वपूर्ण साझेदारी गरे। त्यही साझेदारीबाट नेपालले शीर्ष डच टोलीविरुद्ध २ सय रनभन्दा माथिकोयोगफल प्रस्तुत गर्न सफल भयो।

पहिलो खेलमा पारस भान डेर मेरवेको बलमा एलबिडब्लु आउट भएका थिए। तर सोमबार सुधारिएको प्रदर्शन गर्दै ब्याटिङमा चम्केका पारसले बलिङमा पनि राम्रो प्रदर्शन गरे। उनले २ विकेट लिए।

पारसबाहेक सोमपाल कामी र वसन्त रेग्मीले समान २–२ विकेट लिए।  वसन्तले ४८औं ओभरमा महत्वपूर्ण २ विकेट लिएपछि डच टोली धराशयी भएको हो। शक्ति गौचन, सागर पुन र सन्दिप लामिछानेको नाममा १–१ विकेट रह्यो।

चौथो चरणको खेल सकिँदा नेपाल ६ अंकसाथ छैटौं स्थानमा यथावत छ भने नेदरल्यान्ड्स १२ अंकसाथ शीर्ष स्थानमा छ। शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स यसअघि अपराजित थियो।

नेपालले यसअघि दुई खेलजितेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई पराजित गरेको थियो।

८ टोली सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष ४ टोलीले आइसिसी एकदिवसिय च्याम्पियनसिपको अन्तिम ४ टोलीसँग सामेल हुनेछ र बंगलादेशमा हुने विश्वकप क्रिकेटका लागि छनोट प्रतियोगिता खेल्नेछन्। बाँकी चार टोली डिभिजन २ मा झर्नेछन्। जहाँ डिभिजन ३ बाट बढुवा भएका टोलीसँग विश्वकप छनोटको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

घरेलु टोलीका मेरवेले ५६ रन बनाए भने टिम ग्रुइजतरले ४४ र म्याक्स ओ’डोउडले ३५ रन बनाए। टिम भान डेर गुगतेनले ३६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

शनिबार पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो। कमजोर ब्याटिङ प्रदर्शन गरेको भ्रमणकारी टोली नेपाल ९४ रनमै अलआउट भएको थियो। नेपालकालागि सबैभन्दा धरै अनिलले २० रनमात्र बनाएका थिए।

सोमबार ज्ञानेन्द्रले ३९ रन बनाए भने अनिलले ५ र भेषावकरले ६ रन बनाए। सागर अर्धशतकबाट ५ रन टाढा रहे। २ चौका प्रहार गरेका सागर ४५ रन बनाउँदा माइकल रिप्पोनको बलमा मेरवेको हातबाट समातिए।

२ सय ५० बढीको लक्ष्य प्रस्तुत गर्ने देखिए पनि पारसको विकेट गएपछि नेपालले निरन्तर विकेट गुमायो। ४३.४ ओभरमा पारस आउट हुँदा नेपाल १८३–४ को स्थितिमा थियो। तर थप ३४ रन जोड्दा नेपालले ५ विकेट गुमाएको हो। विनोद भण्डारीले २ छक्कासहित १७ रन बनाए भने राजु रिजाल शून्यमै पवेलियन फर्किए। सोमपाल कामी २ र वसन्त रेग्मी ४ रनमा आउट भए। टोलीमा पुनरागमन गरेका शक्ति गौचन ३ र सन्दिप लामिछाने २ रनमा अविजित रहे।

नेदरल्यान्ड्सका माइकल रिप्पोनले ४ विकेट लिए भने असन मलिकले २ विकेट लिए। मेरवे,पाउल भान मिकेरेन र भिभिएन किङमाले १/१ विकेट लिए।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App