१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय कीर्तिमानको लक्ष्य

काठमाडौं- आधा शताब्दीभन्दा धेरै भयो, नेपालले ओलम्पिकमा भाग लिन थालेको। नेपालको सहभागिता इतिहास जति भयो, एथलेटिक्सको ओलम्पिक अनुभवको उमेर पनि उत्तिकै भइसक्यो। १९६४ को टोकियो ओलम्पिक देखि ब्रजिलको रियो दी जेनेरियोसम्म आइपुग्दा नेपालको सहभागितासँगै एथलेटिक्सको उपस्थिती छुटेको छैन।

सहभागिताको पाँच दशक वितिसक्यो, तर नेपालले कुनै खेलबाट ओलम्पिकमा पदक आशा गर्न सकेको छैन। १९८८ को सियोल ओलम्पिकमा तेक्वान्दोका विधान लामाले कांस्य पदक हात पार्नु दूर्लभ संयोग थियो। प्रदर्शनी खेलका रुपमा तेक्वान्दो समावेश गरिँदा लामाले जितेको पदक आधिकारिक पदक तालिकामा समावेश छैन। अन्यमा नेपालको उपलब्धि सहभागितामै सिमित छ।

यसपलि पनि ५ खेलका ७ खेलाडीले रियोमा नेपाली झन्डा बोकिरहेका छन्, पदकको आशा विना। त्यसमा दुई खेलाडी एथलेटिक्सका छन्।

रियोमा एथलेटिक्सबाट हरि रिमालले ५ हजार मिटर र सरस्वती भट्टराईले १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। दुवै त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्। उनीहरुका प्रशिक्षक पुष्पराज ओझा पनि ओलम्पियन पूर्व धावक हुन्। लामो समयदेखि यी दुईलाई रियोका लागि तयार गरिरहेका ओझा बढिमा राष्ट्रिय कीर्तिमानमा सुधारवाहेकको नतिजाका लागि आशावादी छैनन्। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रगंशाला आइतबार पनि प्रशिक्षणमा व्यस्त प्रशिक्षक ओझाले ओलम्पिकलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मानकको रुपमा हेरिएको बताए।

‘हामीले पदक भन्दा घरमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गरेर काम गरिरहेका छौं,’ प्रशिक्षक ओझाले भने, ‘ओलम्पिकको प्रदर्शनबाट हामीले सागमा कस्तो प्रदर्शन गर्न सक्छौं भन्ने अनुमान लगाउन सकिन्छ। हामी राष्ट्रिय कीर्तिमानको छेउछाउमा हुन्छौं।’

सरस्वतीले साउन २९ गते प्रतिस्पर्धा गर्नेछिन् भने हरिले भदौ १ मा पहिलो चरणको खेल खेल्नेछन्। हरिले वाइल्ड कार्ड मार्फत रियोको टिकट पक्का गरेका हुन् भने सरस्वतीले खुला छनोट प्रतियोगिता पार गर्दै ब्राजिल यात्रा तय गरेकी हुन्।

भारतमा सम्पन्न १२औं सागमा कांस्य पदक जितेपछि भने हरीलाई ओलम्पिकमा सहभागी हुन्छु भन्ने लागको थियो। दक्षिण एसियाली खेलकुदको इतिहासमै नेपाली एथलेटिक्सको प्रदर्शन यसपाली १२ औं सागमा सबभन्दा कमजोर थियो। भारतमा नेपाली एथलेटिक्सले एकमात्र पदक जित्न सकेको थियो। त्यो कांस्य पदक हरिको नाममा थियो।

‘साग सकिएको केही महिनामै ओलम्पिक हुनेवाला थियो। त्यसैले सागमा १ मात्र पदक मैले नै जितेकाले ओलम्पिकका लागि छनोट हुन्छु भन्ने आशा थियो,’ भूकम्पले प्रभावित भएपछि रातो स्टिकर लागेको दशरथ रंगशालाको प्यारापिट मुनि नागरिकसँग हरिले भने, ‘खेलकुदमा लागेपछि ओलम्पिक नै सबैको सपना हुन्छ। त्यो पूरा हुदैछ खुशी छु। नेपाल जस्तो देशका लागि यहाँसम्म पुग्नुपनि ठूलो हो। तर म यसलाई अझ स्मरणीय बनाउन चाहन्छु।’

प्रशिक्षक ओझाले भनेजस्तै हरिले पनि पदक जित्ने महŒवकांक्षी सपना देखेका छैनन्। तथापी राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य बनाएका छन्। त्यसै अनुसार प्रशिक्षण भइरहेको बताउछन्, हरि। ५ हजार तर्फको राष्ट्रिय किर्तिमान राजेन्द्र भन्डारीको नाममा छ, १४.०४ मिनेटको। हरिको भने १४.३२ मिनेट सबैभन्दा राम्रो प्रदर्शन हो।

‘तयारी राम्रो भइरहेको छ। अहिलेसम्म हामी राष्ट्रिय कीर्तिमान तोड्ने हिसावले तयारी गरिरहेका छौं,’ २७ वर्षे हरिले थपे। प्रशिक्षक ओझले हरि अनुभवी खेलाडी भएका कारण आशा गर्न सकिने बताए। ओझाले भने, ‘हरि आफै अनुभवी खेलाडी हुन्। उनले सागमा पदक जितिसकेका छन् र एसियाली खेलकुद पनि खेलिसके। उनीबाट हामीले आशा गर्न सक्छौं। राष्ट्रिय कीर्तिमान पनि धेरै राम्रो छ। तोड्ने त हाम्रो लक्ष्य हो, नभए पनि हरि त्यसको छेउछाउ आउछन्।’

धादिङको कलखर्क गाविसमा जन्मिएका हरिको खेल जीवन नेपाली सेनामा भर्ना भएपछि शुरु भएको थियो। त्यसअघि खेल्दै नखेलेका भने होइनन्। गाँउमा उनी फुटबल खेल्थे। मन्डली माध्यमिक विद्यालयबाट एसएलसी पास भएपछि उच्च शिक्षाका लागि काठमाडौं आए। त्यसपछि सरस्वती क्याम्पस भर्ना भए। क्याम्पसकै साथीहरुसँग फुटबल खेल्न दिनहुँ टुडिखेलमा धाउथे, हरि। त्यही बेला साथीको लहलहैमा सेनामा भर्ना भए। त्यहीबाट उनको जीवनले नयाँ मोड लियो खेलाडीको रुपमा।

‘सेनाको आधरभुत तालिम सकिएपछि त्रिभुवन आर्मीका गुरुहरुले बोलाउनु भयो। त्यसपछि हो, मेरो खेलजीवन सुरु भएको। निरन्तर प्रशिक्षणमा रहेँ। नेशनल च्याम्पियनसिप भएपछि एथलेटिक्सम निरन्तर लागिरहेको छु,’ हरिले भने, ‘फुटबल पनि राम्रो खेल्थँे। फुटबलमा राम्रो गर्छु भन्ने सोचिरहेको थिए। तर, फुटबलभन्दा एथलेटिक्समा सफलता मिल्न थालेपछि यसमै रमाउन थालेँ।’

१२औं सागमा कांस्य जितेका हरिले दुई वर्षअघि ९१औं मलेसियन ओपन एथलेटिक्स च्याम्पियनसिपअर्न्तगत ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। त्यसै प्रतियोगिताको १० हजार मिटर दौडमा पनि उनी स्वर्ण जित्न सफल भएका थिए। हरिले बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद, चीनमा भएको १६औं र कोरियामा भएको १७औं एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन्।

पाँचौं राष्ट्रिय खेलकुदमा १ हजार ५ सय मिटरमा स्वर्ण पदक जितेपछि हो, हरिले एथलेटिक्सलाई निरन्तरता दिएको। त्यसयता उनले थुप्रै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन्। बीचमा केही म्याराथन प्रतियोगितामा भाग लिए पनि आजभोली हरि मध्यम दुरीको दौडमै केन्द्रित छन्। नेपालको भौगोलिक अवस्थाले पनि उनको खेल जीवनमा सहयोग गरेको स्विकार्छन।

‘गाँउमा लेकवेशी गर्नु पर्थ्यो। स्कुल पनि टाढा थियो। खेतबारी धेरै भएपछि काम त गर्नु नै पर्‍यो,’ पाँच दाजुभाइ मध्येका साइला हरिले थपे, ‘स्कुलमा हामी फुटबल खेल्थ्यौं। सायद त्यो वातावरणले अप्रत्यक्ष रुपमा सहयोग गर्‍यो।’

खेल जीवनमा सफल हरि प्रेम सम्बन्धमा पनि छन्। प्रमाणपत्र तहको पढाई पूरा गरिसकेका हरि यसै वर्ष विवाह वन्धनमा बाधिने योजनामा छन्।

‘हामी प्रेम सम्बन्धमा रहेको लामो समय भइसक्यो,’ हङकङमा रहेकी अनु थापासँगको सम्बन्ध खुलाउँदै हरि लजाए, ‘ओलम्पिकपछि पाकिस्तानमा इन्टर आर्मी प्रतियोगिता छ। त्यसपछि विवाह गर्ने सोच छ।’

 

प्रकाशित: २४ श्रावण २०७३ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App