१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रुढीवादलाई चुनौती दिँदै अटार

रियो दी जेनेरियो– साउदी अरेबियाको पहिलो पुस्ताकी महिला खेलाडी साराह अल अटारले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा दोस्रोपटक सहभागिता जनाउँदा विधा परिवर्तन गर्ने भएकी छन्।

कट्टरपन्थी मुस्लिमहरूको देश साउदी अरबको रुढीवादी परम्परालाई चुनौती दिने पहिलो महिला खेलाडीमध्येकी एक अटारले यसपालि रियो ओलम्पिकमा म्याराथन दौड्ने भएकी छन् । चार वर्षअघि आमाका साथ लन्डन ओलम्पिकमा भाग लिन जाँदा उनले ८ सय मिटर दौडमा सहभागिता जनाएकी थिइन । लन्डन ओलम्पिक साउदी महिला खेलाडीले भाग लिएको पहिलो ठूलो अन्तर्राष्ट्रिय खेलमेला थियो।

अहिले अटारको उमेर २३ पुगिसकेको छ । त्यसैले उनी ४२ किलोमिटरको दौडलाई तयार छिन् । उनीसँगै अरु तीन साउदी महिला खेलाडीले पनि रियो ओलम्पिकमा सहभागिता जनाउने भएका छन् । चार महिला तथा सात पुरुष खेलाडीको साउदी अरेबिया ओलम्पिक टोली सोमबार रियो पुगेको थियो । तर, साउदीका खेलाडीलाई प्रेससँग भेट्न दिइएको छैन । साउदी अरेबियामा लैंगिक विभेद चरम छ । त्यसैले साउदी ओलम्पिक कमिटीले आफ्नो वेबसाइटमा देशलाई रियो ओलम्पिकमा सहभागिता जनाउने महिला खेलाडीको नाम उल्लेख गरेको छैन ।

साउदीलाई प्रतिनिधित्व गर्दै रियो ओलम्पिकमा अटारसहित जुडोमा वुजुद फाहमी, फेन्सिङमा लुब्ना अल ओमाइर र १ सय मिटर दौडमा क्यारिमन अबु अल जादाइलले सहभागिता जनाउने छन् । साउदीका महिला खेलाडीहरू कोही पनि छनोट प्रतियोगितामा सफलता हासिल गरेर रियो यात्राका लागि लायक भएका होइनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को विशेष निमन्त्रणामा उनीहरू रियोमा सहभागिता जनाउन लागेका हुन् ।

रुढीवादी समाजलाई प्रतिनिधित्व गर्ने भए पनि अटारले लन्डन र रियोको ओलम्पिक सहभागितामा आफूलाई कुनै पछुतो नभएको बताएकी छन् । ‘म साउदी अरेबियाका महिलाको पक्षमा काम गरिरहेकी छु। ओलम्पिकमा सहभागिता जनाउने एउटा युवतीका रुपमा मैले देशका सबै युवा महिलालाई कुनै दिन हाम्रो देशका महिलाले गर्न सक्ने बाटो देखाइरहेकी छु,’ केही समयअघि छापिएको एक लेखमा उनले भनेकी छन्।

लन्डनमा उनको प्रदर्शन खेलकुदीय दृष्टिले निकै कमजोर थियो । ८ सय मिटर दौडको हिटमा अन्तिम भएकी उनी आफूभन्दा अघिल्लो प्रतिस्पर्धीभन्दा आधा मिनेट पछि थिइन् । तथापि पहिलोपटक साउदी महिलालाई ओलम्पिकको मञ्चमा प्रस्तुत गरेकी उनले फिनिसिङ लाइन पूरा गर्दा लन्डनको ओलम्पिक रंगशालामा उपस्थित सबै दर्शक उनको सम्मानमा उठेर ताली बजाएका थिए ।

क्यालिफोर्नियामा बसोबास गर्ने साउदी नागरिक अटारले बोस्टन म्याराथनको चार संस्करणमा सहभागिता जनाइसकेकी छन् । तर उनले कुनै पनि सहभागितामा ३ घन्टाभन्दा कम समयमा म्याराथन पूरा गर्न सकेकी छैनन् । त्यसैले रियोमा पनि उनीबाट ठूला नतिजा अपेक्षा गरिएको छैन ।

साउदी अरेबियामा महिलाले खेलकुदमा भाग लिनु निकै कठिन काम हो । त्यसैले लन्डन ओलम्पिकमा कुनै महिलाले भाग लिनु देशभित्र सुरक्षाका दृष्टिले समेत ठूलो चुनौती थियो । साउदीकी ती युवतीलाई क्यालिफोर्नियामा पूरा शरीर छोप्ने खालका लामा परम्परागत कपडा लगाएर दौडिँदै गरेको कसैले देखेपछि उनले ओलम्पिकमा सहभागिताको निम्तो पाएकी थिइन् ।

‘मेरी आमा र म लामो सुरुवाल र पूरा शरीर ढाक्ने कपडा लगाएर दौडिने गर्छौं । हामीले अनलाइनबाट टाउको छोप्ने (बुर्का) पनि पाएका थियौं,’ अटारले मारी क्लाइरे म्यागजिनसँग भनेकी थिइन्, ‘साउदी अरेबियामा महिलाले लगाउने यस्तो पोशाक लगाउँदा मलाई गर्व लाग्छ । त्यही कपडाले मलाई साउदीका महिलासँग जोड्ने काम गर्छ । त्यहाँ पनि म जस्तै दौडिँन चाहने महिलाहरू छन् । उनीहरूले पनि मैले जसरी दौडिन सक्छन् भन्ने मैले सन्देश दिएको छु ।’

लन्डन ओलम्पिकपछि अटारले ठूला प्रायोजक पाएकी छन् । त्यसयता क्यालिफोर्नियाको मामोथ लेकमा उनले ठूला धाविकाहरूसँग प्रशिक्षण गरिरहेकी छन् । अटार र उनको परिवारले पनि लन्डन ओलम्पिकपछि साउदी अरेबियाको अवस्था फेरिएको अनुभव गरेका छन् ।

उनका पिता अमेर अटारले २०११ मा साउदी जाँदा छोरीले दौडिने चाहना राख्दा आफूले केटाको जस्तो टोपी र अरु कपडा व्यवस्था गरेको सम्झिए । तर गतवर्ष उनले जेदाहमा महिला र पुरुष सँगै दौडिइरहेको देखेका थिए ।

‘मैले एकजना मानिस उसकी श्रीमतीजस्तो देखिने महिलासँग हात समातेर दौडिइरहेका थिए । उनले अबाया (मुस्लिम महिलाले लगाउने परम्परागत पोशाक) लगाएर पूरा शरीर छोपेकी थिइन् । तर उनीहरू मजासँग दौडिइरहेका थिए,’ उनले भने ।

प्रकाशित: १९ श्रावण २०७३ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App