१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

तेजबहादुर चन्द स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

बैतडीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता सुरु भएको हो। अन्तरपालिका स्तरिय प्रतियोगितामा जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ। जिल्लाका ९ वटा स्थानीय तह र आयोजकको टिम प्रतियोगितामा सहभागी रहेको आयोजकले जनाएको छ।

मेनेजर तेजबहादुर चन्द स्मृति ट्रष्टको आयोजनामा सुरु भएको भलिबल प्रतियोगितामा पहिलो दिन तीन खेल सम्पन्न भएका छन्। सुर्नया गाउँपालिका र आयोजकबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ। यस्तै दोस्रो खेलमा पुर्चौडी नगरपालिकालाई पराजित गर्दै दशरथचन्द नगरपालिकाले जित हात पारेको छ। तेस्रो खेलमा पञ्चेश्वर गाउँपालिकालाई पराजित गर्दै सिगास गाउँपालिकाले जित हात पारेको भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए।

प्रतियोगिता मंसिर २७ गते सम्म सञ्चालन हुनेछ। ट्रष्टका अध्यक्ष ग्रिस चन्दको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता उद्दघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी प्रमुख अतिथी रहेका थिए। जिल्ला भरीका भलिबल खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोस्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेस्रो हुने टिमलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ। यो भन्दा पहिला दशरथचन्द नगरपालिकास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको ट्रष्टले पहिलो पटक जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो। यसका साथै ट्रष्टले अन्य सामाजिक कार्य समेत गरिरहेको सचिव चन्दले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७९ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App