१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ताजसहित विश्वकप बिट मार्ने चाहना

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। दुई पटकको विश्वविजेता अर्जेन्टिनाले मंगलबार समूह ‘सी’अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको थालनी गर्नेछ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो। त्यसयता सन् २०१४ को ब्राजिल विश्वकपको फाइनल प्रवेश गर्नु नै उनीहरूका लागि ठूलो उपलब्धि हो।

सात पटकका बालोन डी’अर विजेता लियोनल मेसीले यो आफ्ना लागि अन्तिम विश्वकप भएको संकेत गरिसकेका छन्। त्यसैले विश्व विजेताको ताजसहित मेसी विश्वकप यात्राबाट बिट मार्न चाहन्छन्। क्लब फुटबलमा राम्रो प्रदर्शन सहित लगातार उपाधि जितिरहे पनि अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भन्दै मेसीको चर्को आलोचना हुने गरेको थियो।

गत वर्ष मेसीकै कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो। त्यसैले मेसी कोपा अमेरिकाको उपाधि सफलता विश्वकपमा समेत कायम राख्न चाहन्छन्।

अर्जेन्टिना पछिल्ला ३६ खेलमा अपराजित रहँदै आएको छ। सन् २०१९ को कोपा अमेरिकामा ब्राजिललाई २-० को नतिजा सुम्पिएपछि अर्जेन्टिना हारेको छैन। सन् २०१८ को रूस विश्वकप अर्जेन्टिनाका लागि सुखद रहेन। समूह चरणमा एक जितपछि मुस्किलले अन्तिम १६ मा स्थान बनाएको अर्जेन्टिनाको नकआउट चरणको यात्रा फ्रान्सले अन्त्य गरिदिएको थियो।

साउदी अरेबिया दाबेदार टोली अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्वकप यात्रामा सुखद थालनी गर्ने लक्ष्यमा रहेको छ। रूस विश्वकपको पहिलो खेलमा साउदी अरेबिया आयोजक रूससँग ५-० ले निराश भएको थियो। उपाधि दाबेदार अर्जेन्टिनासहित मेक्सिको र पोल्यान्डको समूहमा साउदी अरेबियालाई सबैभन्दा कमजोर टोलीका रूपमा हेरिएको छ।

साउदी अरेबिया हालसम्म एक पटक मात्र विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। सन् १९९४ मा साउदी अरेबियाले नकआउट चरणमा स्थान बनाएको थियो। साउदी अरेबिया पछिल्लो समय जितको लयमा छैन। पछिल्लो १० खेलमा साउदी अरेबियाले मात्र २ खेल जितेको छ।

साउदी अरेबिया र अर्जेन्टिना विश्वकपमा आमनेसामने हुन लागेको यो पहिलो पटक हो। समूह ‘सी’ कै अर्को खेलमा मंगलबार नै पोल्यान्ड र मेक्सिको भिड्दै छन्। यता विश्वकप उपाधि रक्षाको लक्ष्यमा रहेको साबिक विजेता फ्रान्स सो यात्रा सार्थक होस् भन्ने चाहन्छ। जसका लागि किलियन एम्बाप्पेको लयलाई महत्त्वका साथ हेरिएको छ।

यस वर्षका बालन डी’ओर विजेता करिम बेन्जेमा चोटका कारण शनिबार मात्र टोलीबाट बाहिरिएका थिए। रूस विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका मिडफिल्डर पाउल पोग्बा यसअघि नै टोलीबाट बाहिरिएका थिए। विश्वविजेता फ्रान्सले मंगलबार समूह ‘डी’ मा अस्ट्रेलियाविरुद्धको खेलसँगै आफ्नो यात्राको सुरुआत गर्नेछ।

एम्बाप्पेले रूस विश्वकपमा ४ गोल गरेका थिए। ४ मध्ये २ गोल एम्बाप्पेले क्रोएसियाविरुद्ध फाइनलमा ४–२ को जित निकालेको खेलमा गरेका थिए। एम्बाप्पेलाई अग्रपक्तिमा ओलिभर जिरौउडले साथ दिनेछन्। २०१८ को रूस विश्वकपमा उच्च लयमा रहेका एम्बाप्पेले गत वर्ष युरोपियन च्याम्पियनसिपमा भने स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकेका थिएनन्। अस्ट्रेलियाविरुद्धको खेलमा रक्षक राफेल भरान टोलीमा फर्कनेछन्।

रूस विश्वकपमा पनि फ्रान्सले पहिलो खेल अस्ट्रेलियाविरुद्ध नै खेलेको थियो। जुन खेल फ्रन्सले २–१ ले जितेको थियो। अस्ट्रेलिया सो हारको बदलासहित सुखद सुरुआत गर्न चाहन्छ। अस्ट्रेलिया प्लेअफमा पेरूलाई हराउँदै विश्वकपका लागि छनोट भएको थियो। समूह ‘डी’ कै अर्को खेलमा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ।

प्रकाशित: ६ मंसिर २०७९ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App