१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

मतदाताका बर्षौदेखिका उही अपेक्षा

गाउँमा उम्मेदवार आउने भनेपछि जम्मा भएका मतदाता।

निर्वाचन आउन केहि दिनमात्र बाँकी रहँदा उम्मेदवारहरु मतदातालाई फकाउन अन्तिम प्रयासमा जुटेका छन्।

सबै उपाय अवलम्बन गरेर मतदातालाई आफूतिर तान्न राजनीतिक दलका नेता तथा उम्मेदवार अहोरात्र खटिरहेका छन्। उम्मेदवार मतदाताको घर, आगन, खेतवारी सबैतिर पुगेर आफूले जितेमा विकासमा चमत्कार नै गर्ने बताईरहेका छन्।

उम्मेदवारहरुले निर्वाचनका बेला नमस्कार गर्दै घरदैलोमा पुगेर दिने आश्वासन मतदाताका लागी भने नयाँ होइनन्। मत माग्दा घरदैलो, गाउँमा आउने उम्मेदवारहरु सँग अधिकाशं मतदाताका बर्षौ देखि भन्दै आएका उनै समस्या र उनै अपेक्षा सुनाउने गरेका  छन्।

‘चौधरी खोलामा सधै आउने बाढीले हाम्रो गाँस पनि वाँस पनि खोसेको छ’ गौरिगंगा गाउँपालिका वडा नं ७ का धौली वि.क.ले मतमाग्न आउने उम्मेदवारलाई सुनाइन्।

धनगढी उपमहानगरपलिका वडा नं १८ लक्ष्मी देवी चुनाराले खेतीपाती गर्न मल, पानी समस्याहुने उम्मेदवारलाई सुनाइन्। ‘सधै खेती लगाउने बेला मल, पानी नभएर समस्या हुने गरेको छ, चुनावका बेला आउने नेताहरुलाई हाम्रा यि समस्या सुनाउँदा सुनाउँदँ थाकिसके’उनले भनिन्।

विभिन्न समस्या सँग झेलिरहेका मतदाताहरुका प्रत्येक निर्वाचनका बेला आउने नेताहरु सँग खानेपानी, सिचाई, नदी कटान, बाटोघाटो, मल, पानी, बिउको अभाव, श्वास्थ्य उपचारको समस्या, शिक्षाका समस्या, रोजगारी लगायतका समस्या सुनाउने गर्छन्। बर्षौ देखि मतदाताहरुले नेताहरु सँग राख्ने माग वा अपेक्षा उहि छन्।

अहिले पनि अधिकाशं मतदाताका ठूला अपेक्षा छैनन्। दिनहुँ झेल्नु परेका समान्य शुद्ध खानेपानी, मल, बिउ र सिचाई, श्वास्थ्य उपचार, नदीले घरखेत नबगाईदेओस, घरपरिवारको चुल्हो बाल्न रोजगारी , हिडडुल गर्न बाटो , बाटोमा पुल यिनै अपेक्षा राख्ने गरेका छन्। निर्वाचनका बेला चमत्कार गर्ने बताउन बाँकी नराख्ने नेताहरु जितेर गएपछि नफर्कने भएकाले मतदाताहरु धेरै उत्साहित भने छैनन्।

‘निर्वाचनका बेला सबै विकास गर्छु भन्छन्, १०, १५ बर्ष अघि देखि चुनावका बला गर्छु भनेका कुराहरु अहिले पनि उस्तै छन्। हामीले बर्षौ देखि भोग्दै आएका उनै समस्या पुरा गरिदिए हुन्थ्यो भनेर उम्मेदवारलाई भन्नुपरेको छ’ भीमदत्त नगरपालिका वडा नं १२ का राम किसन रानाले भने।

किसानलाई मल, सिचाई,उन्नत बिउ लगायत समस्या बर्षौदेखि भोग्दै आएका छन्। अहिले पनि आर्थिक अभावमा ग्रामिण बस्तीका बासिन्दा रोग सहेर बस्नुपर्ने बाध्यतामा छन्। सरकारले स्वास्थ्यचौकी, जिल्ला अस्पतालमा निशुल्क उपलब्ध गराउने भनिएका औषधी हुदैनन्। अहिले पनि सुदूरपश्चिम प्रदेशबाट जिविकोपार्जन गर्न पढ्ने उमेरमै हजारौ किशोर र युवाहरु मजदुरी गर्न भारतका विभिन्न शहरमा गएर श्रम बेच्नुपर्ने बाध्यता छन्। चुनावमा मुखमा सिमा नाकामा भारत जाने युवाहरुको लर्को छ।

कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक डा. हेमराज पन्त जितेर गएका नेताहरुले काम नगर्नाले बर्षौदेखि जनताहरुका समस्या ज्यु का त्यु रहेको बताउछन्। ‘सधै चुनावका बेला मतदाताले उनै समस्या सुनाउनु पर्ने अवस्था छ’ उनले भने।बर्षौदेखि उहि कुरा दोहोर्याई राख्ने जितेर गएपछि पुरा नगर्ने नेताहरुप्रति जनतामा कुनै बिश्वास नभएको उनी बताउछन्।

‘सधै मतदाताका उनै समस्या र अपेक्षा हुन्छन्। नेताहरु चुनावका बेला सबै काम गर्छु भन्छन्। अर्को चुनाव आउदाँ एउटा पनि समस्या समाधान भएको देखिदैन’ उनले भने,‘यो लाजमर्दो कुरा हो्।’

मल,बिउ,पानी, शिक्षा, स्वास्थ्य,गरिवी निवारण जस्ता जनताले बर्षौदेखि भाग्दै आएका समस्या जस्ताको तेस्तै हुनु र निर्वाचनका वेला कर्मकाण्डीरुपमा उनै कुरा दोहोर्याइनुले जनतामा प्रणाली प्रति नै बिश्वास गुमेको डा. पन्त बताउछन्।

प्रकाशित: ३० कार्तिक २०७९ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App