४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यपालिका बैठकमा हुलहुज्जत गर्न खोज्ने प्रहरी नियन्त्रणमा

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कार्यपालिकाको बैठकलाई हुलहुज्जत गरी बिथोल्न खोज्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यपालिकाको बैठक चलिरहँदा जनप्रतिनिधि र कर्मचारीलाई गालीगलौज गरी बिथोल्न खोज्ने उक्त समूहलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ।  

मदिरा सेवन गरी जनप्रतिनिधि तथा कर्मचारीलाई गालीगलौज गर्दै बैठक नै बिथोलिने वातावरण बनाएपछि इलाका प्रहरी कार्यालय केशरगंजको प्रहरी टोलीले स्थानीय हरिनायण महतो सुडी, संजित यादव लगायतलाई नियन्त्रणमा लिएको हो।  

सुडीसहितका केही मानिस गाउँ कार्यपालिकाको बैठक छेउमा गएर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई गालीगलौज तथा अपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शी देनकुमार महतोले जानकारी गराएका छन्। चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको बैठकमा रक्सी खाएर कर्मचारी तथा जनप्रनिधिलाई हातपात गर्ने उद्देश्यले हुल बाँधेर सुडी पुगेको उनले बताए।  

स्थानीय चेतनारायण मुखिया बिनले सुडीको नेतृत्वमा ४०–५० जनाको समूह रहेको र जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तथानाम गाली गर्दै गाउँपालिका कार्यालयमा ताल्चा लगाई दिने, अधिकृतलाई कुटपिट गर्ने लगायतका धम्की दिन थालेपछि प्रहरीले उनीहरुलाई मानिसलाई नियन्त्रणमा लिएको बताएका छन्।  

गाउँपालिकाको बैठक चलिरहँदा केही मानिसले हुलहुज्जत गर्न खोजेको तर प्रहरी सक्रिय भएर भिडलाई शान्त पार्दै केही मानिसलाई तत्कालको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नियन्त्रणमा लिइएकाहरुलाई सम्झाई बुझाई घर फर्काइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

 

प्रकाशित: ८ आश्विन २०७९ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App