१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लेख्न नजान्नेका लागि छुट्टै कर्मचारी

वडा कार्यालयमा एकल महिला भत्ता लिन आएकी तिली कामी। तस्विरः गणेश/नागरिक

नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित मनिकापुरकी तिली कामी अक्षरसमेत चिन्न सक्दैनिन्। विद्यालयको ढोकासम्म नपुगेकी उनी मंगलबार वडा कार्यालयसम्म पुगिन्। एकल महिला भत्ताका लागि फाराम भर्न उनी वडा कार्यालयसम्म पुगेकी थिइन्। जब उनको हातमा भत्ताका लागि आवश्यक पर्ने फाराम पर्‍यो अनि निधारभरि पसिना छुटे। कारण, ‘उनले आँखा कम देख्थिन्।  उसैमा पढ्नलेख्न आउँदैन्थ्यो। ’

तर, वडाले उनको कामलाई सहजै बनाइदियो। उनी वडा कार्यालय पुग्नुमात्र पर्‍यो। उनको फाराम वडाका कर्मचारीले भरि दिए। उनीजस्तै वृद्धभत्ताका लागि वडा कार्यालय पुगेका घुंगे अहिरले पनि फारामको झन्झट व्यहोर्नु परेन। ‘म लेख्नपढ्न जान्दैन, जसले गर्दा फाराम भर्न सक्दैनथ्येँ। घरबाट आउँदाखेरि नै कसलाई फाराम भर्न लगाउने होला भन्ने मनमा कुरा खेलेको थियो,’ उनले भने, ‘तर, वडा कार्यालयमा पुग्दा त्यस्तो समस्या भएन।’ आफूले विवरण मात्र भनेको र फाराम कर्मचारी भरिदिएको उनले जनाए। फाराम भर्न नजान्ने र वृद्धवृद्धाहरुलाई सघाउ पुर्‍याउन वडा कार्यालयले सहयोगी कर्मचारी व्यवस्था गरेको छ। जसले गर्दा तिली र घुंगेजस्ता धेरै सेवाग्राहीलाई लेखापढीमा सहज भएको छ।  

वडा कार्यालयमा आउने सेवाग्राहीहरुको सेवालाई सहज र सरल बनाउन उक्त वडाले सहयोगी कर्मचारीको समेत व्यवस्था गरेको छ। सरकारी कार्यालयमा हुने झन्झिटिलो प्रक्रियाले गर्दा सेवाग्राहीहरुले दुःख पाउने गरेका छन्। पहिले जस्तो झन्झटिलो प्रक्रियाको अन्त्य गरी वडामा सेवा लिन आउने सबै किसिमका सेवाग्राहीलाई सहजगताका लागि वडाले सेवाग्राहीमैत्री कामको प्रयास गरेको वडाध्यक्ष कौशलकुमार धोबीले बताए। 

‘सामान्य लेखपढसमेत गर्न नसक्ने सेवाग्राहीहरु आउनुहुन्छ। उहाँहरुलाई सेवा लिनै कठिन हुन्छ,’ उनले भने, ‘यसको अन्त्य गर्न र लेखपढ गर्न नसक्नेलाई पनि सहजै सेवा दिन पहल गरेका छौं।’ उनका अनुसार वडाले ३५ किसिमका फाराम तयार पारेको छ। ‘फाराम छपाइ गरेर तयार पारेका छौं,’ उनी भन्छन्, ‘भर्ने ठाउँ खाली राखिएको छ।  खाली ठाउँ भर्ने वडामा कर्मचारी व्यवस्थासमेत गरेका छौं।’ वडाले सिफारिसलगायतका अन्य कामकाजका लागि सहज सेवा दिन थालेपछि यहाँका सेवाग्राहीहरु खुसी भएका छन्।

प्रकाशित: ३ आश्विन २०७९ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App