१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राप्ती नदीमा यसवर्षकै ठूलो बाढी

बाँकेको अगैयास्थित राप्ती नदीमा आएको बाढी।

बाँकेस्थित राप्ती नदीमा यसवर्षकै ठूलो बाढी आएको छ। जिल्लाको कुसुममा रहेको बाढी मापन केन्द्रको रेकर्ड अनुसार यसवर्षकै ठूलो बाढी आएको हो।

कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १० बजेतिर पानीको सतह ६ मिटर ३७ सेन्टिमिटरसम्म पुगेको थियो। यसअघि गत असार २५ गतेका दिन बाढी आउँदा राप्तीको सतह ५.६४ मिटर पुगेको थियो।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती नदीमा यसवर्षकै ठूलो बाढी आएको बताए। ‘यो बाढी यसवर्षकै ठूलो हो, यसअघि असार २५ गते ५.६४ मिटर बाढी आएको थियो,’ उनले भने। कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

त्यसपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सर्तक गराइन्छ। राप्तीमा बाढी बढेपछि आइतबार बिहानदेखी खतरा स्वरुप साइरन बजाइएको थियो। लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पा, प्युठानमा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो।

बाँकेको कुसुमबाट करिब ५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ। जिल्ला प्रशासन कार्यालय बाँकेले पनि राप्तीको तल्लो तटिय क्षेत्र र डुबान भइरहने होचो भुभागमा बस्ने सर्वसाधारणले सर्तकता अपाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

भारतले अन्तराष्ट्रिय कानुन विपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने बित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन्। बाढीका कारण हजारौं विघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्तीमा बाढी बढेपछि सर्तकता अपनाउन तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई अपिल गरिएको बताए।

‘बाढी बढेपछि बिहानैदेखी साइरन बजाएर सर्तक रहन आग्रह गरेका छौं,’ उनले भने ‘नदीमा दाउरा समात्न, माछा मार्ने काम नगर्न स्थानीयलाई सचेत गराएका छौं, सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनेका छौं।’ राप्तीमा यसवर्षकै ठूलो बाढी आएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।

प्रकाशित: १ आश्विन २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App