१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रहिनन् भक्तपुरकी ‘शोभा’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंकी जीवनसंगिनी दिवंगत शोभा प्रधानको शुक्रबार निकालिएको शवयात्रामा सर्वसाधारण। तस्बिरः उपेन्द्र/नागरिक

नेपाली राजनीतिमा अझै केही नेता छन्, जो विभिन्न राजनीतिक उतारचढावमा देखिएका कुनै लोभ–प्रभोलनमा परेनन्। तिनैमध्ये हुन्, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें। रोहितका नामले समेत चिनिने बिजुक्छेंलाई बलियो बनाउने उनकी धर्मपत्नी शोभा कस्ती होलिन् भन्ने जिज्ञासाले ६ वर्षअगाडि कमलपोखरीनजिकैको उनको निवासमा पुर्‍याएको थियो।

देशविदेशका पत्रपत्रिकामा बिजुक्छेंका थुप्रै खबर छापिए पनि २०४० सालमा वैवाहिक जीवनमा बाधिएकी नारायणमान दाइको गर्विलो उचाइको सहयोगी शोभा भक्तपुरबाहिर भने लगभग बेखबरजस्तै थिइन्। त्यसैले होला त्यति बेला ‘नारायणमान दाइकी शोभा’ शीर्षकको समाचार प्रकाशित गर्दा निकै खुसी लागेको थियो। त्यसपछि कतिपय कार्यक्रममा नारायणमान दाइसँग जम्काभेट भए पनि शोभा म्यामसँग कहिल्यै भेट भएन। उनको निधन भएको खबरसँगै शुक्रबार भक्तपुर पुग्दा उही ६ वर्ष अगाडिकी निश्चल शोभा शवयात्राको पोस्टरमा मन्द मुस्काइरहेकी थिइन्। संयोग पनि कस्तो भने त्यति बेला खिचिएकै तस्बिर हजारौं संख्यामा भक्तपुरमा मुस्काइरहेका थिए।

उनको शवयात्रामा सहभागी केटाकेटीदेखि वृद्धवृद्धासम्मको अँध्यारो अनुहारले शोभा भक्तपुरमा कति प्रिय थिइन् भन्ने देखाइरहेको थियो। उनी नारायणमान दाइकी मात्र शोभा थिइनन्, सिंगो सहरको शोभा बनिसकेको महसुस भयो। शोभालाई चिन्नेहरू नारायणमान दाइसँग विवाहपछि उनको जीवनमा निकै कठिनाइ पनि आए, शोभाले कहिल्यै हिम्मत नहारेको सुनाउँछन्। दुई सन्तानकी आमा उनी घर चलाउँथिन्, नारायणमान दाइ पार्टी। नारायणमान दाइको जीवनमा मन्त्री बन्ने, उपप्रधानमन्त्री बन्नेजस्ता अवसर नआएका होइनन्। एकपटक त प्रधानमन्त्री बन्नेसम्मको अफर आयो तर बिजुक्छे परिवारले पद र अवसरभन्दा राजनीतिक निष्ठा र समाजको हितलाई सर्वोपरि ठान्यो।’  

‘मलाई मन्त्रीपत्नी बन्ने रहर कहिल्यै लागेन,’ बिजुक्छें पत्नी शोभाले ६ वर्षअगाडि भनेकी थिइन्, ‘म शिक्षिकामै खुसी छु।’ ‘उनले घर हेर्दा मैले समाजबारे सोच्ने मौका पाएँ,’ नारायणमान बिजुक्छेंले भनेका थिए, ‘मेरो जीवनमा उनको सहयोग निकै छ।’ तिनै नारायणमान दाइ शुक्रबार हनुमानघाटमा अँध्यारो अनुहार लगाउँदै शोभाको अन्तिम यात्रामा सहभागी देखिए।

रामेछाप ठोसेस्थित प्रधान परिवारकी शोभा २०४० मा बिजुक्छेंसँग वैवाहिक सम्बन्धमा गाँसिएकी हुन्। विवाहअगावै शिक्षिकाको रूपमा कार्यरत शोभाको अनिवार्य अवकाश २०७७ पुस १३ गते भएको थियो। उनले २०७७ फागुन १२ गते भएको बिदाइ कार्यक्रममा २ लाख रूपैयाँ प्रदान गरी शिक्षक–कर्मचारी स्वास्थ्योपचार कोष निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्। २०४५ मा भएको ह्योजु काण्डमा जनताको तर्फबाट पोखिएको आक्रोशलाई लिएर पति जेलमा परेपछि शोभा निकै चिन्तित थिइन्।

पञ्चायती सरकारले पति र उनको पार्टीलाई समूल नष्ट गर्ने उद्देश्य बोकेको उनले बुझिन्। उनी झनै आत्तिइन्। विवाहको केही वर्षमै आएको यो समस्या झेल्न उनलाई निकै कठिन भयो। अध्यक्ष बिजुक्छें पक्राउ पर्दा शोभाको काखमा चार वर्षको छोरा सुवेग र कोखमा छोरा सुवान थिए। पक्राउ परेको चार महिनापछि छोरा सुवानको जन्म भयो। उनका तिनै दुई छोरा आमाको शवयात्रामा शुक्रबार सहभागी हुँदा सबै मानिस भावविह्वल बने।

राजनीतिक रूपमा सचेत र सक्रिय नहुँदा २०४५ सालको काण्डमा भोग्नुपरेको समस्याबाट पाठ सिकेर शोभा प्रधान नेपाल क्रान्तिकारी महिला संघमा आबद्ध रहिन्। २०६३ सालको चैतमा भएको नेपाल क्रान्तिकारी महिला संघको प्रथम राष्ट्रिय सम्मेलनपछिको पहिलो बैठकमा शोभा प्रधानलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिइएको थियो।

परबाट हेर्दा थुप्रैलाई यो परिवार निकै सम्भ्रान्त र सुखभोगी होलाजस्तो लाग्ला तर यो परिवारसँग नजिक हुनेहरू उनीहरूको सरलपनबाट प्रभावित हुन्छन्। भक्तपुर कमल विनायकनजिकै बिजुक्छें परिवारको घर छ। यो परिवारमा शोभा अहोरात्र खटिन्थिन्। ‘घरमा नोकरचाकर होलान् भन्ने धेरैलाई लाग्ने गरेको छ,’ किस्तीमा चिया ल्याउँदै गरेकी शोभाले त्यति बेला भनेकी थिइन्, ‘घरको काम गर्न मलाई रमाइलो लाग्छ।’

२०५६ सालमा स्तन क्यान्सरलाई पराजित गरी जीवनमा नयाँ संघर्ष थालेकी शोभालाई २०७४ सालमा पाठेघरको क्यान्सरले समात्यो। रोग लाग्दा पनि कत्ति विचलित नभएकी शोभाले अध्यक्ष बिजुक्छेंका नियमित गतिविधिमा सकभर कुनै बाधा अड्चन नआओस् भनेर प्रयास गरिरहिन्। तर, बुधबारदेखि उनको त्यो प्रयास सकिएको छ।

प्रकाशित: ११ असार २०७९ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App