१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धरानको मतगणनास्थल तनावग्रस्त, सुरक्षाको लागि सेना परिचालन

धरानको निर्वाचन अधिकृत कार्यालयअघि भइरहेको विरोध प्रर्दशन, र सुरक्षाको परिचालन सेनासहितको सुरक्षाकर्मीहरु। तस्बिर: रोहित/नागरिक

धरानको वडा नं २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएको विवाद बढ्दै जादा निर्वाचन अधिकृतको कार्यालय परिसर तनावग्रस्त बनेको छ।  

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले उग्र प्रर्दशन र नाराबाजी गरिरहेका बेला कांग्रेसका कार्यकर्ताहरुले पनि नाराबाजी गर्न थालेपछि तनाव बढेको हो। स्थिति तनावग्रस्त भएपछि सुरक्षाको लागि नेपाली सेना पनि परिचालन भएको छ। अहिले निर्वाचन अधिकृतको कार्यालयलाई तीन घेरामा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको छ। मतगणना कार्य स्थगित छ।  

वडा नं २० को मतगणना भइरहदा मतदान अधिकृतको हस्ताक्षर विनाको १८ वटा मतपत्र भेटिएको थियो। उक्त मतपत्रबारे सर्वदलीय बैठकमा वदर हुने र मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिश गर्ने  निर्णय भएको थियो। वडा २० को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेद्वार पदम लिम्बुसँग माओवादीका उम्मेद्वार विजय लामा ४ मतले पछि परे।  

हस्ताक्षर नभएको १८ मतपत्रमध्ये ११ वटामा माओवादी केन्द्रको भोट थियो। आफ्नो उम्मेद्वार मात्र ४ मतले पराजित हुने भएपछि वडा नं २० का माओवादी नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै विरोध शुरु गरेका थिए। माओवादी केन्द्रले १८ वटा मतपत्र सदर गर्नुपर्ने भन्दै नाराबाजी र प्रर्दशन गरिरहदा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि नाराबाजी सुरु गरेका थिए। कांग्रेस कार्यकर्ताहरुले मतगणना सकिएकोले घोषणा गर्नुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्। दुवै पक्षबीच आमनेसामने भएर विरोध प्रर्दशन हुँदा झपड हुने खतरा भएपछि नेपाली सेनासहित थप सुरक्षाकर्मी परिचालन भएको हो।

निर्वाचन अधिकृत पुष्करराज नेपालले निर्वाचन आयोगसँग समन्वय गरेर माओवादी केन्द्रको लिखित माग पेश गर्न आग्रह गरेको र आयोगको निर्णय अनुसार अघि बढ्ने जानकारी दिए। उनले वडा नं २० को मतगणना प्रक्रिया रोकेर अन्य वडाको सुचारु गर्न आग्रह गरेपनि माओवादी कार्यकर्ताहरुले सहमति नजनाए पछि गणना कार्य सुचारु भएको छैन। माओवादीका धरान अधयक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले मतपत्रमा हस्ताक्षर नगर्ने मतदान केन्द्रलाई कारबाही गर्नुपर्ने, १८ वटा मत सदर गर्नुपर्ने, सदर नगर्ने हो भने पुनः मतदान हुनुपर्ने माग लिखितिरुपमा पेश गरिएको बताए। ‘हामीले लिखितरुपमा नै ३ बुँदे माग पेश गरेका छौ, निर्वाचन आयोगको के निर्णय आउछ, प्रतिक्षमा छौ,’ उनले भने।

धरानमा कुल १ लाख ३२४ मतदाता छन्। बैशाख ३० गतेको निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो। अहिलेसम्म धरानको २० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ९, १० र १८ वडाको मतगणना सम्पन्न भइसकेको छ। गणना सम्पन्न भएको वडाहरुमध्ये १, ३, ९ र १८ नेपाली कांग्रेसले जितेको छ भने २, ४, ५, ७ र १० वडा एमालेले जितेको छ। वडा नं ६ को अध्यक्षमा भने स्वतन्त्र उम्मेद्वारले जितेको छ। बाँकी वडाहरुको मतगणना कार्य अहिले स्थगित छ। वडा २० को मतगणना सकिए पनि विवादले अन्तिम परिणाम घोषणा भएको छैन।  

अहिलेसम्म गणना भएको मतको नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १४ मतले अगाडि छन्। पछिल्लो मतगणनाको नतिजा अनुसार चुनाव चिह्न लौरो रहेका साम्पाङले ८१४० मत प्राप्त गरेका छन्। गठबन्धन उम्मेद्वार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन्।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ। उनले ९१३६ मत प्राप्त गरेका छन्। एमाले उम्मेद्वार पदम इस्वोले ८८५१ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १२:१२ बुधबार