१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ईद उल फित्रमा मुस्लिम महिलाद्वारा सामूहिक नमाज

दुई वर्षपछि मस्जिदमा सामूहिक नमाज पढ्दाको खुसी

कपिलवस्तुका बिभिन्न मस्जिदहरुमा मुस्लिम महिलाहरुले ईद उल फित्र ईदमा मंगलबार सामूहिक नमाज पढेका छन्। एक महिने रमजानको रोजा सकेर उनीहरुले सदरमुकाम तौलिहवामा रहेका दुई छुट्टाछुट्टै मस्जिद, अभिराव, नन्दनगर, कृष्णनगर लगायतका जिल्लाका बिभिन्न स्थानमा रहेका मस्जिदहरुमा उनीहरुले विशेष नमाज पाठ गरेका हुन्।

कोरोनाका कारण दुई वर्षसम्म घरमै नमाज पढेर ईद मनाएका उनीहरुले अहिले मस्जिदमा नमाज पढ्न पाएकामा खुसी व्यक्त गरेका छन्। यसैक्रममा कपिलवस्तु नगरपालिका–१ नयाँटोलकी नजमुन निशाले मंगलबार बिहान आफन्तसंगै छोटकी तौलिहवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर विशेष नमाज पढिन्। रमजान महिनामा बस्ने एक महिने रोजाकाक्रममा घरमै पाँच पटक नमाज समेत पढ्ने गरेकी उनले परिवारका अन्य सदस्यहरुसँगै बिहानै त्यहाँ पुगेकी थिइन्। बुर्का लगाएर गएकी उनले मस्जिदमा रहेका महिलाहरुसंगै एक घण्टासम्म पाठ गरिन्।  

आफूले हरेक वर्षको ईदमा परिवारका अन्य सदस्यहरुसंगै मस्जिदमा नमाज पढ्ने गरेको मस्जिदबाट घर फकिर्नेक्रममा उनले बताइन्। ‘ईदका अवसरमा घर परिवार र आफन्त संगैसंगै मस्मिदमा सामूहिक नमाज पढ्दा खुसी लाग्छ,’ उनले भनिन् ‘त्यसरी नमाज पढ्दा छुट्टै आनन्द मिल्छ, यसबाट अल्लाहबाट धेरै बरकत समेत पाइन्छ जस्तो महसुस हुन्छ।’

यस्तै बिहान ८ बजेदेखि सामूहिक नमाज पढ्ने कार्यक्रम भए पनि एक घण्टाअघि नै कपिलवस्तु नगरपालिका तिलौराकोटकी साकिरा खातुन छोटकी तौलिहवाको मस्जिदमा पुगेकी थिइन्। आफन्तसंगै त्यहाँ पुगेर सामूहिक नमाज पाठ गरेकी उनले पनि आफूलाई ईदका दिन त्यसरी मस्जिदमा पाठ गर्न पाउँदा निकै खुसी लाग्ने गरेको बताइन्। ‘साच्चिकै ईदका दिन मस्जिदमा सामूहिक पाठ गर्दा धेरै रमाइलो लाग्छ।’ त्यहाँको मस्जिदमा २ सय बढी महिलाहरुले सामूहिक पाठ नमाज पढेका थिए।

छोटकी तौलिहवाको मस्जिदमा पुरुष र महिला दुबैले सामूहिक पाठ गरेका थिए। त्यसका लागि मस्जिदमा रहेका कोठाको बीच भागमा पर्दा लगाइएको थियो। एकातिर पुरुषहरु र अर्कातिर महिलाहरु बसेर सामूहिक पाठ गरेका थिए। अहिले हदिफ समुदायका महिलाहरुले मस्जिदमा सामूहिक प्रार्थना गर्न पाउने कृष्णनगरका मौलाना महसुद नेपालीले बताए। हदिफ समुदायका महिलाहरुलाई रमजानमा पुरुषसरह रोजा बस्ने र ईदगाहा वा मस्जिदमा सामूहिक नमाज पढ्ने अधिकार रहेको उनले बताए।

कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिराव लगायतका ईदगाहामा समेत महिलाहरुले सामूहिक नमाज पाठ गरेका थिए। तर अहिले सुन्नत समुदायका पुरुषहरुले मात्र ईदगाहामा सामूहिक नमाज पाठ गरेका थिए।  

उता मुस्लिमहरुको महान पर्व ईद उल फित्र ईदका दिन मंगलबार जिल्लाका बिभिन्न स्थानमा रहेका ईदगाहा र मस्जिदमा सामूहिक नमाज पाठ गरी हर्षोल्लासका साथ ईद मनाइएको छ। उनीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै ईद पर्व भव्य रुपमा मनाएका हुन्। सो अवसरमा उनीहरुले देशमा शान्ति, सुरक्षा, अमनचयनको कामना गरेका थिए। कपिलवसतु नगरपालिका–१ बसपार्क छेउमा रहेको ईदगाहमा सामूहिक नमाज पढेर बाहिर आउनेक्रममा नुरम महोम्मद खालिद खाले आफूहरुले सामूहिक नमाज पाठ गरेपछि नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको कामना गरेको बताए। ‘यो महान पर्वमा सबैले मिलेर खुशीयाली बाड्न चाहन्छौं, देशभर नै राम्रो भएको हेर्न चाहेका छौं,’ उनले भने। 

खुशीयालीको पर्व ईद  

मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट यो चाड मनाउने गर्छन्। ईदको अर्थ खुसियाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुशीयाली मनाइएकाले यस चाडलाई ईद उल फित्र भन्ने गरिएको हो। ईदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुशीयालीमा सरिक हुन सहयोग पनि गर्ने चलन छ। अरबी पात्रोअनुसार एक महिनासम्म उपवास बसेपछि महिनाको अन्तमा चन्द्रमाको दर्शन गरेपछि रमजान पर्व सम्पन्न हुन्छ। र, भोलिपल्ट ईद पर्व मनाउने परम्परा रहिआएको छ। उक्त दिन राति देखिने चन्द्रमालाई ईदका चाँद भन्ने गरिन्छ।

एक महिना पूरा भएपनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ। इस्लाम धर्मावलम्बी यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन्। रमजान पर्व सुरु भएपछि पर्व मनाउनेले दिनभरनै उपवास बस्ने गर्छन्। मुस्लिम धर्मालम्बीले यस पर्वभरी कम बोल्ने, झुटो नबोल्ने, अर्काको इर्श्या नगर्ने, लोभ नगर्ने, अरुको हानी नपुर्‍याउने, कुरान पढ्ने गर्छन्। रमजान महिनालाई तीन भागमा विभाजन गरिएको छ।

पर्वको तेस्रो भागलाई महत्वपूर्ण स्थान दिइएको छ। पर्वको तेस्रो भाग अर्थात् १० दिनसम्म समाजका कुनै एक व्यक्ति नजिकको मस्जिदमा लगातार १० दिनसम्म बस्छन् मस्जिदबाट बाहिर नित्य कर्मबाहेक बाहिर निस्कन पाउँदैनन्। समाजमा आउन सक्ने कुनै विपत्तिलाई समाप्त पार्न धार्मिक र मानवताको उद्देश्यसाथ मस्जिदमा पाठ गर्ने गरिएको हो। ईदगाहामा सामूहिक पाठ गरेपछि मृतकहरुको सम्झनामा करबलामा गएर समेत नमाज पढ्ने चलन छ।

यस अवसरमा समाजका गरिब तथा विपन्न मुसलमानलाई दान पनि दिइन्छ, जसलाई 'फित्र' भनिन्छ। आफ्नो परिवारको सदस्यको गच्छअनुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको मौलाना मिर्जा अन्सारीले बताए। इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ। पाँच स्तम्भमध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मको नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ। रमजान महिनाभरी धर्मावलम्बीले दिनको पाँच पटक नमाज पढ्ने चलन छ।  

राजनीतिक दलका नेता र उम्मेदवारहरु शुभकामना दिन पुगे मस्जिदमै

आसन्न स्थानीय तहको निर्वाचनका बेला चुनावी चलहपहल तीव्ररुपमा चलिरहेका बेला आज बिहानै दलका नेता र उम्मेदवारहरु मस्जिदमै शुभकामना दिन पुगेका छन्। कांग्रेस, एमाले र जनता समाजवादी पार्टीका नेता तथा उम्मेदवारहरु तौलिहवास्थित बसपार्क छेउमा रहेको ईदगाहा स्थलमा पुगेका हुन्। कपिलवस्तु नगरपालिकामा ती तीन पार्टीबीच त्रिपक्षीय प्रस्पिर्धा रहेको छ।

कांग्रेस नेता सुधाकर पाण्डेय, कांग्रेस मेयरमा प्रत्यासी किरण सिंह, एमालेका नेता तथा सांसद बृजेशकुमार गुप्ता, एमालेका उम्मेदवार राजेश गुप्ता उपमेयरकी प्रत्यासी तुलसा पाण्डेय गेरे, जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार सुदीप पौडेल, उपमेयरकी प्रत्यासी सुनिता गुप्ता लगायतका छुट्टाछुट्टै टोली शुभकामना दिन त्यहाँ पुगेका थिए। कांग्रेस वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार रामभजन जैसवाल, एमाले वडा नम्बर २ का उम्मेदवार अशोक गुप्ता, एमाले वडा नम्बर १ का उम्मेदवार संतोष कसौधन, कांग्रेस १ नम्बर वडाका उम्मेदवार गड्डु गुप्ता लगायतले शुभकामनाका साथ आफ्नो पार्टीका लागि मत समेत मागेका थिए।

सो मस्जिदमा १५ सय बढी मुस्लिम समुदायले सामूहिक नमाज पढेका थिए। सो अवसरमा मुस्लिम अगुवा रउफ अहमद खाले नेताहरु ईदगाह स्थल मै शुभकामना दिन आएकोमा खुसी व्यक्त गर्दै मुस्लिमहरुको हक अधिकारका लागि साथ दिन पनि आग्रह गरेका थिए। उनले ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोमा राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरे।

प्रकाशित: २० वैशाख २०७९ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App