२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन

वीरगन्जमा शनिबर भएको महिलाहरुको प्रदर्शन। तस्बिरः रितेश/नागरिक

आसन्न स्थानीय तह निर्वाचनमा महिलाको संविधानप्रदत हक जालझेजपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगन्जमा शनिबार विरोध प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको तालमेलले स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक जना अनिवार्य महिला नै हुनुपर्ने स्थापीत अभ्यासलाई विस्थापित गरेर भाग खोस्ने काम भएको प्रदर्शनका सहभागी महिलाले बताए। आरक्षित वडा सदस्य पद बाहेक स्थानीय तहको निर्वाचनमा महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाइएको भन्दै वीरगन्जमा विरोध प्रदर्शन भएको हो।  

बिभिन्न राजनीतिक दलमा आबद्ध महिला नेता तथा र कार्यकर्ताहरुले वीरगन्जमा शनिबार विरोध जुलुश निकालेरै प्रदर्शन गरे। घण्टाघरबाट सुरु भएको विरोध जुलुश नगरभित्र परिक्रमापछि पुनः घण्टाघर चोकमैं आएर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका सहभागीहरूले 'महिलाको सहभागिता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइँदैन, गठबन्धनको नाममा महिलाको अधिकार खोस्न पाइँदैन' जस्ता नारा लगाएका थिए।  

‘महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाउँदा यसले संविधानप्रदत महिलको हक अधिकार मिचिएको छ,’ कोणसभालाई सम्बोधन गर्दै काँग्रेस नेतृत्व डा. सुष्मा द्विवेदीले भनिन्, ‘चुनावी गठबन्धनमा मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिएकोले महिलामाथि अन्याय भइरहेको छ।’ मेयरको टिकट नपाउने भएपछि उपमेयरमा भएपनि पुरुष नेताहरु आफ्नो नाम पठाउन तछारमछार गरेको देख्दा दुःख लागेको उनको भनाई छ। ‘महिलाहरुको हक अधिकारको लागि मञ्चहरुमा ठूलाठूला भाषण दिने पुरुषहरु नत घरको महिलालाई अवसर दिन्छन् नत घर बाहिरको महिलाको ३३ प्रतिशत सहभागी सुनिश्चित हुन दिन्छन्,’ उनले भनिन्, ‘स्थानीय चुनाव र पितृसत्तात्मक सोच र व्यवहार अझ उजागर भएर आएको छ, ५० प्रतिशतभन्दा बढीको जनसंख्यालाई पाखा लगाउने र महिलालाई बाध्यकारी अवस्थामा मात्र अवसर दिने यस्तो प्रवृत्तिकाे सबैले मिलेर विरोध गर्नु पर्दछ।’  

महिला प्रतिनिधित्व पालिकाको प्रमुख वा उपप्रमुख तथा वडा अध्यक्ष तथा सदस्यमा हुनुपर्दछ भन्ने माग राख्दै दबाब दिन प्रदर्शनमा उत्रिनु परेको लोकतान्त्रिक समाजवादी पार्टी कि नेता रम्भा मिश्राले बताइन्। पर्साका पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको महिला नेताहरुले दावी गरे। वीरगन्ज महानगरपालिकाकी नगर उपप्रमुख शान्ति कार्की, मुन्नी श्रीवास्तव, रुपा श्रेष्ठ, गुड्डु जोशी, उत्तमा प्याकुरेल लगायतका महिला नेताहरु सहभागी थिए।

प्रकाशित: १० वैशाख २०७९ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App