३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा तीन बिधामा पुरस्कृत गरिदैं

टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गर्ने भएको छ।

प्रतिष्ठानले रेडक्रस उपशाखातर्फ फुरुम्बु उपशाखालाई नगद १० हजार १ सय ५ रुपैयाँसहित पुरस्कृत गर्न लागेको प्रतिष्ठानका विकास गौतमले जानकारी दिए।यस्तै उत्कृष्ट समाजसेवीतर्फ फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका ज्ञानप्रसाद तामाङ पुरस्कृत हुने भएका छन्।

उनलाई नगद ५ हजार १ सय ५ रुपैयाँ राशी सहित पुरस्कृत गर्न लागिएको समेत गौतमले जानकारी दिए। तत्कालिन हाङ्देवा गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तामाङ सेवा निवृत राष्ट्र सेवक समेत हुन्। यता ५ हजार १ सय ५ रुपैयाँ राशीको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी संगिता कार्की पुरस्कृत हुने भएकी छन्।

रेडियो ताप्लेजुङकी सञ्चारकर्मी उनी पत्रकार महासंघ ताप्लेजुङी सहसचिव समेत हुन्। नेपाल पत्रकार महासंघ ताप्लेजुङको सिफारिस र टीकाराम गौतम स्मृति प्रतिष्ठानको निर्णय अनुरुप कार्कीलाइ सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

२०१३ साल वैशाख ९ गते जन्मिएका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो। सामाजिक क्षेत्रमा अगुवा उनको निधन पछि सामाजिक क्षेत्रलाइ स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहेका छन्। स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App