२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाही दुर्घटनाः मृतकमध्ये भारतीय नागरिक पनि

सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा मृतक तथा घाइतेमध्ये केही भारतीय नागरिक भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आइतबार बिहान करिब साढे ११ बजे सर्लाहीको फुलजोरमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइते भएकामध्ये केही भारतीय नागरिक पनि रहेका छन्।  

आइतबार वीरगंजबाट जनकपुर जाने क्रममा पूर्व पश्चिम राजमार्गको सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १७ मा रहेको फुलजोर पुलमा ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई करिब ९ मिटर तल खसेको थियो। बसको अगाडिको एउटा चक्का पड्किएर बस अनियन्त्रित भएको एक जना घाइतेले बताएका छन्।  

बस दुर्घटनामा परेर चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको प्रहरीको भनाइ छ। मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै सनाखत हुन सकेको छैन।

मृत्यु हुनेमा भारतको बेतिया बेलसन्धिको डार पिपरा पंचायतका २४ वर्षीय सुनिल यादव रहेका छन्। यसैगरी सिन्धुली जिल्लाको तिनपट्टा गाउँपालिका २ का ३० वर्षीया शर्मिला श्रेष्ठ रहेका छन्। मृत्यु भएकामध्ये एक महिला र एक पुरुषको सनाखत अझै हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

घाइते हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ४ का २९ वर्षीय कुशबहादुर जर्गामगर, सर्लाहीको लालबन्दी नगरपालिका ३ का सम्झना खत्री, बर्दीबास नगरपालिका ५ की ५० वर्षीया अम्बिका श्रेष्ठ, सिन्धुली जिल्लाको तिनपट्टा गाउँपालिका २ की ४२ वर्षीया सबला थापा र तीन महिनाकी अबासि श्रेष्ठ, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १० का १८ वर्षीय सिरजकुमार थापा रहेका छन्।  

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका ८ का १८ वर्षीय सन्तोष राम, लालबन्दी नगरपालिका २ की २५ वर्षीया सावित्री पासवान, बारा जिल्लाको कलैया उपमहानगरपालिका १२ का ४८ वर्षका ज्योतिप्रसाद साह, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १२ का १९ वर्षीय भरत पासवान पनि घाइते भएका छन्। बस दुर्घटनामा लालबन्दी नगरपालिका ९ की ७० वर्षीया प्रेमकुमारी खत्री, धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का ३५ वर्षीया शर्मिला ठकुरी, सबैला गाउँपालिका २ का ३३ वर्षीय अमृत महतो, महोत्तरीको लहरी गाउँपालिका २ का २६ वर्षीय सोनेलाल महतो, सर्लाहीको ईश्वरपुर नगरपालिका १४ का ५० वर्षीय छविलाल महतो र निजकै श्रीमती ४४ वर्षीया सुनैनादेवी कोइरी, महोत्तरीको गौशाला नगरपालिका १ को २१ वर्षीय अजय यादव, बर्दिबास नगरपालिका ३ का ६२ वर्षीय बद्री रायमाझी, बाराको बदलनगरका १७ वर्षीय भन्डारी राय पनि घाइते भएका छन्।  

बस दुर्घटनामा घाइते हुनेहरुमा सर्लाहीको हरिपुर नगरपालिका ३ का ३३ वर्षीय शत्रुघन राम, बरहथवा नगरपालिका १० का २८ वर्षीय कपलेश महतो, हजरिया नगरपालिका २६ का कमल जर्गामगर, पर्साको वीरगंज महानगरपालिका ९ का पवनकुमार दनुवार, रौतहटको चन्द्रपुर नगरपालिका १ का ४८ वर्षीय यज्ञशंकर काफ्ले, महोत्तरीको सानुखरा गाउँपालिका ६ का ४८ वर्षीय मुन्ना राउत पनि रहेका छन्। साथै बाराको जितपुर सिमरा उपमहानगरपालिका १ का ११ वर्षीय दीपक राय, पर्साको वीरगंज महानगरपालिका १८ का ४१ वर्षीय मुन्ना जयसवाल, वीरगंज महानगरपालिका ६ का ३२ वर्षीय विकास रौनियार, रौतहटको गढीमाई नगरपालिका १ का २१ वर्षीय आशिषकुमार कर्ण र महोत्तरी घर भई रौतहटमा विवाह भएकी २७ वर्षीया रुपा थापा पनि घाइते भएको प्रहरीले जनाएको छ।

भारतमा घर भई हरिवनमा घोंघी बेच्न आउनेहरु पनि घाइते भएका छन्। घोंघीको व्यापार गर्ने भारतीय नागरिक ३० वर्षीया पूजा देवी, ६० वर्षीया सुशीला देवी रहेका छन्। दुवै जना सामान्य घाइते छन्। दुवै जना भारतीय नागरिकको उपचार सर्लाहीमा भएको प्रहरीले जनाएको छ।  

घाइतेमध्ये अधिकांशको उपचार सर्लाहीकै विभिन्न अस्पतालमा भइरहेको छ।

दुर्घटनामा मृत्यु हुनेहरुको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: १३ चैत्र २०७८ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App