रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा नेपाली सेनाले विजय स्मारकको निर्माण गरेको छ। सर्वसाधारणले बिर्सिन थालेको लडैया समनपुरको इतिहास अब स्मारकमा राखिएको शिलास्तम्भले बोल्न थालेको छ।
३१ डिसेम्बर १८१४ को रात रौतहटको समनपुरमा नेपाल–अङ्ग्रेजबीच भीषण युद्ध भएको थियो। विश्वको इतिहासमा सर्वसाधारण र आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजी सेनाबीच भएको यो फरक खालको सम्भवतः फरक युद्ध थियो। स्थानीयबासीले अङ्ग्रेजी फौजलाई नराम्ररी पराजित गरे। सयौँ किलोमिटरसम्म लखेटे। हातहतियारहरु खोसेर लिए। करिब अढाई महिनासम्म विजयोत्सव मनाए।
अङ्ग्रेज फौजलाई हराएको सोही ठाउँमा अहिले युद्ध स्मारक निर्माण भएको छ। नेपाली सेनाद्वारा समनपुरमा विजय स्मारक निर्माण गरिएको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गराएका छन्।
समनपुर बजारभन्दा पश्चिम जाने एउटा पुरानो बाटोको छेउमा गढीमाई नगरपालिकाद्वारा उपलब्ध गराइएको जमिनमा नेपाली सेनाद्वारा नेपाल–अंग्रेज युद्ध विजय स्मारकको निर्माण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ।
नेपाल–अङ्ग्रेज युद्धको निसानीको रूपमा समनपुरमा एउटा स्तम्भ पहिलेदेखि नै रहेको छ। उक्त पुरानो स्तम्भ अहिले एक जनाको निजी खेतमा परेको र उक्त खेतलाई नगरपालिकाले किन्ने प्रयास गरेको भए पनि सफल नभएकोले नजिकै नगरपालिकाद्वारा जमिन उपलब्ध गराइएको बताउँदै यादवले सोही जमिनमा विजय स्मारक बनाइएको जानकारी गराएका छन्।
नेपाल–अंग्रेज युद्धको विषयमा स्थानीय जनसमुदायमा अहिलेसम्म अनेक किंवदन्ती प्रचलनमा रहेको छ। नेपाली सेनाद्वारा विजय स्मारक निर्माण गरिएपछि यहाँको इतिहासलाई संरक्षण गर्ने दिशामा ऐतिहासिक कदम भएको स्थानीयको भनाइ छ। स्मारकमा राखिएको शिलालेखले समनपुर लडाइँको अनेक किंवदन्तीलाई पनि सार्थक बनाएको स्थानीयको बुझाइ रहेको छ।
विजय स्मारकमा प्रतिष्ठापित शिलास्तम्भमा लेखिएको छ:
'लडैया समनपुरको संक्षिप्त इतिहास
१. सन् १८१४ मा अंग्रेजको एक टुकडी फौज समनपुर इलाकामा आई बसेको। उक्त फौजले हाल गढीमाई नपा १ र गढीमाई नपा ६ इलाकामा पर्ने बागमती नदीको पश्चिम र पूर्व लडैया समनपुर रौतहटमा आई क्याम्प खडा गरेको । बागमती नदीको वारि (पश्चिम) र पारि (पूर्व) गरी दुईवटा टाबर खडा गरेको थियो जुन सम्भवतः संचारको लागि प्रयोग गरियो।
२. डिसेम्बर ३१ को राति अंग्रेज फौज नयाँ वर्ष मनाउने कार्यक्रम भइरहेको अवस्थामा समनपुरका स्थानीय बासिन्दाहरूले ठूला ठूला रांगाहरुको दुवै सिंगमा मसाल बाँधी रांगाहरुलाई अगाडि लगाई उपलब्ध घरेलु हातहतियारसहित चारैतिरबाट आक्रमण गरेका थिए। उक्त घटनामा धेरै अंग्रेज फौजको हताहत हुनुको साथै उनीहरुबाट हाल गढीमाई नपा १ मा रहेको पोखरीमा फालेको अवस्थामा हतियार फेला परेको भन्ने तथ्य पाइन्छ। नेपाली सेनाहरू उक्त घटना घटेको तेस्रो वा चौथो दिनमा मात्र आइपुगेका थिए। उक्त स्थानबाट तोप १ समेत जफत गरेको।
३. नेपाली सेनाले अंग्रेजी फौजहरूलाई लखेट्दै बिहारको बैशाली जिल्लाको सदरमुकाम हाजीपुरसम्म गई नारायणी नदीको किनारमा नेपाली छाउनी खडा गरी बसेको। सुगौली सन्धिपश्चात मात्र नेपाली फौजहरु उक्त स्थानबाट फर्किएको र उक्त स्थानको नाम कोनहाराघाट भनी प्रचलनमा रहेको।'
समनपुरमा भएको लडाइँमा स्थानीयले प्राप्त गरेको विजयको उत्सव करिब अढाई महिनासम्म मनाएका थिए। सोही विजयोत्सवको सम्झनामा हरेक वर्ष फागु पूर्णिमा अहिलेसम्म पनि समनपुरमा मेला लाग्दै आएको वडाध्यक्ष रामविनय यादवको भनाइ छ।
नेपाली सेनाले निर्माण गरेको स्मारकले लडैया समनपुरको इतिहास बोल्न थालेपछि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने विश्वास रहेको छ। गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले युद्ध स्मारकले गढीमाई नगरपालिकाको ऐतिहासिक परिचयमा महत्वपूर्ण योगदान गरेको बताउँदै आगामी दिनमा समनपुरको इतिहासको विषयमा थप सोधखोज गर्ने बताएका छन्। लडाइसित सम्बन्धित केही हतियार संरक्षण गरिएको बताउँदै मेयर यादवले ऐतिहासिक पोखरीको पनि संरक्षणले पनि यहाँको ऐतिहासिक परिचयमा थप सहयोग गर्ने बताएका छन्।
समनपुरमा पौराणिक काल महाभारतको समयको महादेव मन्दिर रहेको विश्वास गरिएको छ।
प्रकाशित: ३ माघ २०७८ १३:०६ सोमबार